महाभारतकालीन विराट राजाको दरबार क्षेत्रमा संग्रहालय

विराटनगर । मोरङको भेडियाहीमा महाभारतकालीन विराट राजाको दरबार क्षेत्रमा पुरातात्विक वस्तुहरु संकलन गरी संग्रहालय बनाइएको छ । संग्रहालयमा प्राचीन कालमा प्रयोग गरिने ढुंगाका हतियार, भाँडाकुँडा, इँटा जस्ता सामग्रीहरु संकलन गरिएको छ ।

संग्रहालयको आइतबार कार्यक्रम गरी उद्घाटन गरियो । नेपाली सेनाको पूर्वी पृतनाका प्रमुख आशबहादुर तामाङ र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संयुक्त रुपमा संग्रहालयको उद्घाटन गरेका थिए ।

महाभारतकालमा सो स्थानमा विराट राजाको राजधानी भएको मानिन्छ । त्यस बेला सो स्थानसहित आसपासका क्षेत्र मत्स्य देशका नामले चिनिन्थ्यो ।

यो क्षेत्रको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै संग्रहालय बनाइएको विराट राजा प्राचीन दरबार खोज तथा संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादवले बताए ।

विराट राजाको दरबारमा महाभारत कालमा पाँच पाण्डवहरु युधिष्टिर, भीम, अर्जुन, नकुल र सहदेव पत्नी द्रौपदीसहित गुप्तबास बस्न आएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

कतैबाट आक्रमण नहोस् भनेर विराट राजाको दरबारमा लामो समयसम्म लुकेर बसेको किंवदन्ती छ ।

विराट राजाको दरबार क्षेत्रलाई संरक्षण गरी धार्मिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि महानगरले योजना बनाइरहेको मेयर नागेश कोइरालाले बताए ।

लामो समयसम्म संरक्षणबिहीन अवस्थामा रहँदा सो दरबार क्षेत्र जीर्ण बनेपछि स्थानीय स्तरबाट संरक्षणको काम हुँदै आएको थियो । विक्रम सम्बत् २०२७ मा नेपाल सरकारको पुरातत्व विभागले सो क्षेत्रमा उत्खनन् गरेको थियो ।

उत्खनन्का क्रममा ४० वटा प्राचीन मुद्राहरु भेटिएको थियो । ती मुद्रामा उल्लेखित संकेतहरुबाट सो स्थानमा विराट राजाको दरबार रहेको पुष्टि भएको थियो ।

उत्खनन्का क्रममा प्राचीन कालमा प्रयोग गरिएको इँटा, ढुंगाका हतियार, तमाखु खाने भाँडा र अन्य पुरातात्विक वस्तुहरु पनि फेला परेका थिए । ती वस्तुहरुलाई संकलन गरी संग्रहालय बनाइएको हो ।

नेपाली सेनाले सामाजिक कार्यअन्तर्गत ऐतिहासिक स्थलको संरक्षण र सम्बद्र्धनका लागि संग्रहालय निर्माण गरेको सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति आशबहादुर तामाङले बताए ।

विराट राजा प्राचीन दरबार खोज तथा संरक्षण समितिले संरक्षणको काम गर्दै आएकामा नेपाली सेनाको जनहित कार्यक्रम अन्तर्गत सो संग्रहालय बनाएर पुराना सामग्रीहरु राखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *