इक्वालिटी कपको उपाधि मोरङलाई

विराटनगर । दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट २०२३’ प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा शनिबार भएको फाइनल खेलमा मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७१ रनको सामान्य स्कोर बनाएको थियो । सिरहाकी शोभा शर्माले सर्वाधिक १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मोरङकी टिका साहले ४ ओभरमा १० रन दिएर ५ विकेट लिँदा खुशी राजवंशीले १ विकेट लिइन् ।

७२ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १० दशमलव १ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङकी टिका साहले सर्वाधिक ३३ रनमा नटआउट भइन् ।

सिरहाकी अर्चना महतोले सर्वाधिक २ विकेट लिइन् । फाइनल खेलको वुमन अफ द फाइनल मोरङकी अलराउण्डर खेलाडि टिका साह घोषित भइन् भने वुमन अफ सिरिज मोरङकी कप्तान सानु राजवंशी भइन् ।

सानु प्रतियोगिताको उत्कृष्ट ब्याटर समेत भइन् । उत्कृष्ट बलर सिरहाकी चन्द्रिका साह र प्रतियोगिताको उदयमान खेलाडि मोरङकी पूर्णिमा राजवंशी घोषित भइन् ।

विजयी टिम तथा खेलाडीलाई प्रमुख अतिथि आइसीसीकी प्रशिक्षक सारा बेग, एमसीसी फाउण्डेसन इंग्ल्याण्डका एन्गुइस बेरी, क्रिकेट विथआउट बाउण्ड्रिज इंग्ल्याण्डका प्रमुख लि बुथ, तत्कालीन पूर्वाञ्चल क्रिकेट विकास समितिका उपाध्यक्ष नन्दु राठी, आयोजकका अविशेक श्रेष्ठ र नेपालकी कप्तान रुविना क्षेत्रीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

फागुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागी रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *