बधाई दिंदै गगनले भने, ‘राजाजस्तो राष्ट्रपति नबन्नुहोला’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्षका रुपमा देख्न चाहेको बताएका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई र शुभकामना दिंदै गर्दै उनले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको र राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको उल्लेख गरेका छन् ।

नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको उल्लेख गर्दै थापाले राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको जनाएका छन् ।

‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन’ उनले भनेका छन्, ‘यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’

महामन्त्री थापाले यसअघि राष्ट्रपतिको सम्मानमा सवारीको नाममा सडक खाली गराउँदा नागरिकलाई घण्टौंसम्म हिँड्‌डुल गर्न नदिने गरिएको भन्दै त्यस्तो अनावश्यक तडक भडक नगर्न सुझाएका छन् ।

‘राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्त्वपूर्ण भूमिका छ । यो मौका हो नयाँ थालनी गर्न । अतः केही नयाँ शुरुवात गरौं,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *