युवकको पेटबाट शल्यक्रिया गरी निकालियो रक्सीको सिंगो बोतल

काठमाडौं । रौतहटका एक व्यक्तिको पेटमा रक्सीको बोतल भेटिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१० का २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा ८८४८ भोड्काको बोतल भेटिएको हो ।

उनको पेटबाट चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका छन् ।

नुर्सादको पेट अचानक दुख्न थालेपछि आइतबार उनका बुवाले घरनजिकको औषधि पसलबाट औषधि लगेर खुवाएका थिए। दुखाइ कम नभएपछि सोमबार बिहान उनलाई चन्द्रपुर अस्पतालमा भर्ना गरिएको थियो ।

जाँच गर्ने क्रममा एक्सरे पनि गरियो । त्यस क्रममा उनको पेटमा सिंगै बोतल देखियो ।

त्यसपछि भरतपुर अस्पताल लगेर उनको पेट शल्यक्रिया गरिएको थियो । त्यहाँका चिकित्सकले शल्यक्रिया गरेर पेटबाट बोतल निकालेका थिए ।

शल्यक्रियापछि नुर्सादलाई भरतपुर अस्पतालमै आईसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी उमाशंकर यादवले जानकारी दिए।

केही दिनअघि नुर्साद चन्द्रपुर–१० बाल्चनपुरमै रहेको साथी मोहम्द समीरसँग उनकै ग्यारेजमा बसेर मदिरा पिएका थिए ।

नुर्सादले रक्सीको बोतलमा पिसाब गरेर खुवाएको भन्दै रिसमा समिरले शनिबार नुर्सादलाई नशालु पदार्थ खुवाएर उनको मलद्वारभित्रबाट रक्सीको बोतल छिराइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

घटनापछि नुर्सादका साथीहरू फरार भएको र खोजी भइरहेका प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *