‘राजाहरूले १२ हजार जनता मारे, म ५ हजारको जिम्मा लिन्छु..’

काठमाडौं । ‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको । साथीहरू, यो सत्य होइन । हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु ।’

तीन वर्षअघि अहिलेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा उक्त अभिव्यक्ति दिएका थिए ।

उनले त्यसबेला भनेका थिए, ‘‘तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा, नराम्रा काममा म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन ।’

माघी पर्वका अवसरमा माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्ति विवादमा परेको थियो । आलोचना पनि भएको थियो । अब यो प्रसंग अदालत पुगेको छ ।

उनको त्यही सार्वजनिक अभिव्यक्तिविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको इजलासले दाहालले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि आदेश दिएको हो ।

दाहालको उक्त अभिव्यक्तिविरुद्ध अधिवक्ताद्वय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा अलगअलग रिट दायर गरेका थिए ।

अधिवक्ताद्वयको रिटलाई सर्वोच्च प्रशासनले २०७९ कात्तिक २४ गते दरपिठ गरिदिएको थियो ।

दरपिठविरुद्ध अधिवक्ताद्वय आरण र बुढाथोकीले सर्वोच्चको इजलासमा निवेदन दिएका थिए । त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खतिवडा र फुयाँलको इजलासले शुक्रबार सर्वोच्च प्रशासनलाई रिट दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ताद्वयले सर्वोच्चको इजलासमा दिएको निवेदनमा माओवादी अध्यक्ष दाहाललाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्न माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *