सहिद स्मारक ए डिभिजन लिग आज सुरू हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज शुक्रबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा खुमलटार यूथ क्लब र फ्रेन्डस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
काडमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
खुमलटारले यूथ क्लबले आज हुने खेलबाट शीर्ष डिभिजनमा डेब्यु गर्न लागेको हो । यो क्लब बी डिभिजन उपविजेता हुँदै ए मा उक्लिएको हो ।
राष्ट्रिय टिमका रेजिन सुब्बाले टिमको कप्तानी सम्हाल्नेछन् ।
उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको फ्रेन्डस क्लब योपटक मिड टेबलमा रहने योजनामा छ । उर्जनले अघिल्लो संस्करण थ्री स्टारको जिम्मेवारी सम्हालेका थिए ।
साबिक विजेता मच्छिन्द्रले आगामी आइतबार जावलाखेल यूथ क्लबसँग खेल्नेछ । नवप्रवेशी खुमलटार र चर्च ब्वाइजसहित १४ क्लब सहभागी लिग डबल राउन्ड रोविनको हुनेछ ।
खेलहरु दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्समा हुनेछन् । विभिन्न क्लबमा आबद्ध खेलाडीका लागि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउनका लागि लिग महत्वपूर्ण प्लेटफर्म मानिन्छ ।
लिग विजेताले ७५ लाख पाउने छ भने उपविजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।