रोजगारी र अवसर खोज्दै विदेशिने बढे

काठमाडौं । रोजगारी र अवसर खोज्दै विदेश जाने नेपालीको संख्या निरन्तर बढिरहेको छ । स्थानीय स्तरमा भरपर्दो रोजगारी नपाउँदा विदेशिने युवाको संख्या दिनहुँ बढिरहेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि माघसम्म साढे चार लाखभन्दा बढी युवा विदेशिएका छन् ।

मलेसिया र खाडी क्षेत्रमा मुलुकहरुमा रोजगारी खोज्दै जानेको संख्या पहिलेभन्दा अझ बढिरहेको पाइएको छ ।

विदेश जानका लागि सात महिनाको अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सबैभन्दा धेरै मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक उमाकान्त आचार्यका अनुसार मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण त्यसतर्फ जाने युवाको सङ्ख्या बढेको हो ।

गत माघ महिनामा पुनः श्रम स्वीकृति लिनेसहित गरी ५ हजार ८३७ महिलासहित ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या भने ३९ हजार १२४ जना रहेको जनाइएको छ ।

उक्त अवधिमा मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार छ । कतारका लागि १२ हजार ७०४, साउदीका लागि १० हजार ५७६, संयुक्त अरब इमिरेट्स (यूएई) नौ हजार ७७० र कुवेतका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८, ६८ हजार, पुसमा ६५ हजार र माघमा ६४ हजारले श्रम स्वीकृति लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *