घूस लिएको आरोपमा मुद्दा दायर भएपछि नगर प्रमुख निलम्बित

काठमाडौं । घूस लिएको आरोपमा मुद्दा दर्ता भएपछि सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नगरप्रमुख गुप्ताविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै उनी स्वतः निलम्बित भएका हुन् ।

नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहको मिलेमतोमा एक विद्यालयको सभाकक्ष निर्माणको अन्तिम बिल भुक्तानी गर्ने क्रममा एक लाख ४० हजार रुपैयाँ घूस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

आरोप पुष्टि भएपछि नगरप्रमुख गुप्ता र इन्जिनयर साहमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार निवारण उेन २०५९ को दफा ३ को उपदफा १ को कसुरमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

सुनसरीको इटहरीस्थित आयोगको कार्यालयको टोलीले माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घूस लिएको भन्दै नियन्त्रणमा लिएको थियो ।

त्यसपछि अनुसन्धानका क्रममा नगर प्रमुख गुप्ताको पनि संलग्नता पाइएको थियो । दुवैलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा १ को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्ति जारी गर्दै जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *