निर्माण व्यवसायी महासंघ प्रदेश १ का पदाधिकारीको पदस्थापन

विराटनगर । निर्माण व्यवसायी महासंघ प्रदेश १ को नयाँ कार्यसमितिका पदाधिकारीको बुधबार पदस्थापन गरिएको छ । विराटनगरमा भएको अधिवेशनले जनसेवक भण्डारीको अध्यक्षतामा १८ सदस्यीय समिति चयन गरेको थियो ।
महासंघको नवनिर्मित भवन परिसरमा आयोजित कार्यक्रममा पदाधिकारीको पदस्थापन गरिएको हो ।
त्यस अवसरमा नयाँ भवन प्रवेश कार्यक्रम पनि विधिपूर्वक गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व कार्यबाहक अध्यक्ष कमलप्रसाद गौतमले सबै जिल्लाका निर्माण व्यवसायीको हक हितका लागि काम गर्न आग्रह गर्दै पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले महासंघको काम प्रभावकारी ढंगले अघि बढाउने प्रक्रिया सुरु भइसकेको बताए ।
उनले राजनीतिक दलहरु तथा सांसदहरुसँग सम्बन्धित विषयमा समन्वय गर्नका लागि दुईवटा समिति बनाइने उल्लेख गरे ।
निर्माण व्यवसायीहरुले मेरो पेशा मेरो गौरव भन्ने भावनालाई आत्मसात गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
निर्माण व्यवसायीलाई कतिपय अवस्थामा हेयको दृष्टिले हेर्ने गरिएको भन्दै उनले यस्तो दृष्टिकोण अनुचित भएको र त्यसलाई हटाएर राम्रो छवि बनाउन व्यवसायीले ध्यान दिनुपर्ने भण्डारीले औंल्याए ।
महासंघअन्तर्गत जिल्ला समितिहरुको अपेक्षा लिखित रुपमा संकलन गरी त्यसमा आएका सुझावहरु कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
तीन महिनाभित्र तथ्यांक संकलन गरी विगतका पदाधिकारीहरुको नामावली, योगदान जस्ता कुराहरुको अभिलेख राख्ने पनि भण्डारीले उल्लेख गरे ।
यसैगरी उनले महासंघको काममा सल्लाह र सुझावका लागि एउटा सल्लाहकार समिति पनि बनाइने बताए ।
निर्माण व्यवसायी संघ सुनसरीका अध्यक्ष रिद्धिराज कार्कीले प्रदेश र जिल्लाको बीचमा समन्वय अत्यावश्यक रहेको बताए ।
प्रदेश १ का १४ वटै जिल्लामा रहेका संघहरुलाई समेटेर अघि बढ्न उनले सुझाव दिए ।
यसैगरी संघको धनकुटाका पूर्वमहासचिव राजेन्द्र दाहाल, मोरङका अध्यक्ष महेशकुमार मिश्रलगायतले सबैको हक हितका लागि काम गर्न प्रदेशले अगुवाइ गर्नुपर्ने र त्यसमा सबैको साथ हुने बताए ।
महासंघका केन्द्रीय उपाध्यक्ष मोहनकुमार अधिकारीले विगतमा महासंघलाई स्थापित गराउन प्रयास गरेका सबैको योगदानको कदर गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघ प्रदेश १ समितिका प्रथम उपाध्यक्षमा केशरकुमार बुढाथोकी, द्वितीय उपाध्यक्ष सन्तोषकुमार ढुंगाना तथा तृतीय उपाध्यक्ष चन्द्र सापकोटालगायतको पदस्थापन गरिएको थियो ।
यसैगरी महासचिव रमेश कार्की, कोषाध्यक्ष सन्तोषकुमार बस्नेत, उपमहासचिव (नीतिगत) तर्फ ऋषिकेश रिजाल (केशव) र उपमहासचिव (आन्तरिक) तर्फ भूमिप्रसाद ढुंगानाको पदस्थापन गरिएको थियो ।
समितिको सहकोषाध्यक्षमा योगराज दाहाल (चन्दन) चयन भएका छन् भने सदस्यहरुमा इन्द्रकुमार कार्की, प्रमानन्द भट्टराई, लक्ष्मी श्रेष्ठ, सन्तकुमार मेहता, गणेशप्रसाद यादव, पदमप्रसाद डाँगी, चन्द्र पाठक र दिपेन योक्पाङ्देन चयन भएका छन् । समितिका अन्य तीनजना सदस्य मनोनीत गरिने जनाइएको छ ।