भण्डारीको अध्यक्षतामा निर्माण व्यवसायी महासंघको प्रदेश समिति

विराटनगर । निर्माण व्यवसायी महासंघ प्रदेश १ को नयाँ कार्यसमिति चयन भएको छ । विराटनगरमा भएको अधिवेशनले जनसेवक भण्डारीको अध्यक्षतामा १८ सदस्यीय समिति चयन गरेको हो ।

समितिका प्रथम उपाध्यक्षमा केशरकुमार बुढाथोकी चुनिएका छन् । यस्तै द्वितीय उपाध्यक्षमा सन्तोषकुमार ढुंगाना तथा तृतीय उपाध्यक्षमा चन्द्र सापकोटा चुनिएका छन् ।

समितिका महासचिवमा रमेश कार्की तथा कोषाध्यक्षमा सन्तोषकुमार बस्नेत चयन भएका छन् । यसैगरी उपमहासचिव (नीतिगत) तर्फ ऋषिकेश रिजाल (केशव) र उपमहासचिव (आन्तरिक) तर्फ भूमिप्रसाद ढुंगाना चुनिएका छन् ।

समितिको सहकोषाध्यक्षमा योगराज दाहाल (चन्दन) चयन भएका छन् ।

समितिका सदस्यहरुमा इन्द्रकुमार कार्की, प्रमानन्द भट्टराई, लक्ष्मी श्रेष्ठ, सन्तकुमार मेहता, गणेशप्रसाद यादव, पदमप्रसाद डाँगी, चन्द्र पाठक र दिपेन योक्पाङ्देन चयन भएका छन् ।

समितिका अन्य तीनजना सदस्य मनोनीत गरिने जनाइएको छ ।

समितिका अध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष बाहेक अरु सबै पदमा सर्वसम्मत चयन गरिएको थियो ।

प्रदेश १ मा ५ सय ३० जना मतदाता प्रतिनिधि रहेकामा ४ सय ७९ मतदाताले मतदान गरेका थिए ।

अध्यक्षमा जनसेवक भण्डारी २ सय ६७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कमलप्रसाद गौतमले २ सय ५ मत पाएका थिए ।

यसैगरी प्रथम उपाध्यक्षमा केशरकुमार बुढाथोकी ३ सय ३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी दिपक पौडेललले १ सय ६३ मत प्राप्त गरेका थिए ।

यस्तै, महासचिवमा २ सय ६६ मत प्राप्त गरी रमेश कार्की निर्वाचित भए भने उनका प्रतिस्पर्धी मौसम थापाले १ सय ९६ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा ३ सय ३३ मत ल्याएर सन्तोषकुमार बस्नेत विजयी भए भने उनका प्रतिस्पर्धी निर्मलकुमार श्रेष्ठले १ सय २७ मत प्राप्त गरेका थिए ।

यसैगरी सहकोषाध्यक्षमा योगराज दाहाल (चन्दन) २ सय ५७ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी खगेन्द्र राईले २ सय ११ मत प्राप्त गरेका थिए ।

बिहिवार विराटनगरस्थित निर्माण व्यवसायी महासंघ मोरङको सभाकक्षमा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराइएको थियो ।

मोरङ संघका प्रथम उपाध्यक्ष ध्रुवराज कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीको पदस्थापन केही दिनमा गराइने तय भएको छ ।

नयाँ कार्यसमिति चयन गर्नका लागि केशवप्रसाद गौतमको संयोजकत्वमा रुपेश कोइराला र ध्रुवराज अधिकारी सदस्य रहेको निर्वाचन समिति बनाइएको थियो ।

कार्यक्रममा बोल्दै निर्वाचन समितिका सदस्य कोइरालाले अधिवेशन र निर्वाचन प्रक्रिया निकै सभ्य र शान्तपूर्ण तरिकाले सम्पन्न भएको बताएका थिए ।

नवनिर्वाचित प्रदेश समिति अध्यक्ष भण्डारीले सबैलाई समेटेर निर्माण व्यवसायीको हक र हितका लागि नयाँ कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *