प्रदेश १ लाई ‘कोशी’ नामकरण गर्ने तयारी

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज बुधवार बस्दैछ । आजको बैठकमा प्रदेशको नामकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ ।

मुलुकका सात प्रदेशमध्ये ६ वटाले आफ्ना नाम राखिसकेका छन् । प्रदेश १ ले भने अहिलेसम्म नाम जुराएर टुंगो लगाउन सकेको छैन ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति जुट्न नसक्दा प्रदेश १ ले हालसम्म नाम पाउन नसकेको हो ।

प्रदेशसभाको पहिलो कार्यकालमा नाम जुराउन नसकेको भनेर आलोचना हुँदै आएको छ ।

दोस्रो कार्यकालको प्रदेशसभाको पहिलो अधिवेशनबाटै नाम टुंगो लगाउन लागिएको हो ।

यसका लागि प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्ने जानकारी दिइएको छ । उक्त बैठकमा छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नाम प्रवेश गराउने दलहरुको तयारी छ ।

अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भए पनि नाम टुंगिन सकेको थिएन ।

भूगोल र पहिचानको आधारमा प्रदेशको नामकरण हुनु पर्नेमा अधिकांश दल सहमत छन् । तर, तीनै दलबाट आएका विभिन्न नामको प्रस्तावमा सहमति जुट्न नसक्दा प्रदेशसभाको अघिल्लो कार्यकाल त्यतिकै बितेको थियो ।

लिम्बुवान, खम्बुवान, किरात, कोचिला, कोसी, सगरमाथामध्ये कुनै एउटा नाम राखिनु पर्ने दलहरुले प्रस्ताव गरेका छन् । प्रस्ताव गरिएका यी नाममध्ये एउटामा सबै दल सहमत हुन नसक्दा प्रदेश १ को नामकरण विवादमै अझिल्दै आएको छ ।

स्रोतका अनुसार प्रदेशको नाम ‘कोसी’ राखिने सम्भावना बढी छ । यसका लागि दलहरुबीच सहमति जुटाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले प्रयास गरिरहेका छन् ।

विभिन्न राजनीतिक तथा जातीय संघसंस्थाका प्रतिनिधिले पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै आएका छन् । हिमाली, पहाडी र तराईका जिल्ला समेत समेटिएको प्रदेश १ मा विभिन्न जातजाति र समुदायको बसोबास रहँदै आएको छ ।

आफ्नो पहिचान झल्कने गरी नाम राखिनुपर्ने भन्दै हालसम्म विभिन्न जातीय र धार्मिक संघ संस्थादेखि राजनीतिक संगठनसम्मले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् ।

प्रदेशको नाम के राख्ने भन्ने बारेमा विभिन्न दलका सांसदहरुको फरक फरक धारणा पाइएको छ । कुनै जातीय संगठनसँग नजिक भएकाहरुले पहिचानका आधारमा राख्नुपर्ने बताउने गरेका छन् ।

प्रदेशको नामकरण गर्न ढिलाइ भइसकेसँगै विभिन्न नामहरु प्रस्ताव गर्ने क्रम पनि बढेको छ । कसैले किराँत प्रदेश, कसैले कोसी प्रदेश अनि कसैले सगरमाथा र कोसी सगरमाथा प्रदेश अनि कसैले किरात लिम्बूवान जस्ता नाम राख्न माग गर्ने गरेका छन् ।

२०७४ फागुन ३ गते प्रदेश सरकार गठन भएदेखि नै नामकरणका विषयमा अनौपचारिक बहस हुँदै आएको छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा तीनजना मुख्यमन्त्री बनेका थिए । दोस्रो कार्यकालमा आइपुग्दा चौथो मुख्यमन्त्री बहाल भएका छन् । सबै मुख्यमन्त्रीहरुले प्रदेशको नाम राख्ने विषय प्राथमिकतामा रहेको बताउने गरे पनि अझैसम्म नाम जुराउन भने सकेका छैनन् ।

पहिलो प्रदेश सभाले २०७६ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर तोकेको थियो । प्रदेशको नामकरण पनि त्यसै बेला गर्ने भनिए पनि हुन सकेन ।

प्रदेशको नामकरण गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ । प्रदेशसभाका पहिलो मुख्यमन्त्री नेकपा एमालेका शेरधन राईसँग दुई तिहाइभन्दा बढी मत हुँदा पनि नामकरण भने हुन सकेन ।

त्यसपछिका मुख्यमन्त्री भीमप्रसाद आचार्यले पनि प्रदेशको नामकरण प्राथमिकतामा रहेको बताएका थिए । दुई महिनामै मुख्यमन्त्रीबाट बाहिरिएका उनले पनि नामकरणको प्रक्रिया अघि बढाएनन् ।

२०७८ कात्तिक १६ गते तेस्रो मुख्यमन्त्री बनेका राजेन्द्रकुमार राईले पनि नामकरण प्राथमिकतामा रहेको बताउनु गरे पनि यसबारेको प्रक्रिया अघि बढाउन सकेनन् ।


प्रतिक्रिया

One thought on “प्रदेश १ लाई ‘कोशी’ नामकरण गर्ने तयारी

  1. कुनै एक अमुक जाती बिषेसको नाम दिनु भन्दा कोशी जस्तो भौगोलिक प्राकृतिक नामनै उपयुक्त हो।नामकरण सम्म हुन नसक्नु दु:खद पक्ष रहेको थियो।सिघ्रतिसिघ्र यो मामला टुंग्याइयोय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *