मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौं । आईसीसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । यूएईमा मंगलवार भएको खेलमा मलेसियालाई १० विकेटले हराउँदै नेपालले चौथो जित निकालेको हो ।

मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए ।

बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । यो जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । यूएईलाई हराएमा नेपाल समूह विजेता बन्दै विश्वकपमा छनोट हुनेछ ।

विश्वकप आउँदो वर्ष श्रीलङ्कामा हुँदैछ । यो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *