एमालेबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएका नेकपा एमालेबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले सोमबार दिउँसो प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका हुन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषिमन्त्री ज्वालाकुमारी शाह, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, भूमिसुधारमन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले राजीनामा बुझाएका हुन् ।

एमाले सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएपछि एमाले अब संसदमा प्रमुख प्रतिपक्षी कित्तामा पुगेको छ ।

प्रतिनिधिसभाका २६८ सांसदको विश्वासको मत पाएको सरकारबाट एमालेका ७८ र राप्रपाका १४ सांसदको समर्थन फिर्ता भएको छ ।

पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री पद नपाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी यसअघि नै सरकारबाट बाहिरिएको थियो । उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारबाट बाहिरिइसकेको छ ।

नेकपा एमाले, राप्रपा र रास्वपा बाहिरिएसँगै १६ वटा मन्त्रालय खाली भएको छ । ती सबै मन्त्रालय प्रधानमन्त्री दाहाल मातहत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *