अदालतबाट सफाइ पाएका पल शाह जेलमुक्त

काठमाडौं । बाल यौन दुर्व्यवहार मुद्दामा थुनामा रहेका कलाकार पल शाह (पूर्णविक्रम शाह) आज सोमबार जेलमुक्त भएका छन् ।

जिल्ला कारागार तनहुँमा राखिएका उनलाई पोखरा उच्च अदालतले आइतबार सफाइ दिएको थियो । उच्चका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो ।

आइतबारको फैसलामा नाबालिगले सुरु अदालतमा शाहबाट जबरजस्ती करणीसहितको यौन दुर्व्यवहार नभएको भनी गरेको बकपत्र र सबै साक्षीले प्रतिवादीले जबरजस्ती करणी गरेका होइनन् भनी गरेको बकपत्रलाई आधार मानिएको शाहका तर्फबाट मुद्दा हेरिरहेका कानुन व्यवसायी अधिवक्ता कमालामोहन वाग्लेले बताए ।

यसअघि जबरजस्ती करणी मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको भदौ २१ गतेको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन दिएको थियो ।

अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

फैसलाविरुद्ध पलका तर्फबाट पनि उच्च अदालतमा अधिवक्ता वाग्लेलगायतले पुनरावेदन गरेका थिए ।

म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बाबुले ०७८ फागुन ११ मा जाहेरी दर्ता गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *