दाइको सम्झना : एउटा मिठो सपना

झुम्राको भकुण्डोसँग एक्लै खेल्दै थिएँ, एक्कासि चम्किला सेता दाँत, कालो कपाल, हँसिलो मुहारले आदेश दिन्छ, ‘ओइ लन्ठ्याङ…जाम हिँड् पार्काबारीमा रूखको घाँस काट्न ।’

भकुण्डो घरको कर्सातिर फालेर घाँस बोक्ने नाम्लो तयार पारेँ । उहाँले खोली ढुङ्गामा खुर्पाको धार लगाएर बिँड ठ्वाक्क ठोक्नु भयो ।

त्यही ठ्वाक्क आवाजसँगै म सपनाबाट झल्याँस्स बिउँझिएछु ।

हत्तेरी । नबिउँझिएको भए हुन्थ्यो । दाइ आउनुभएको थियो । अलि समय उहाँसँगै बिताउन पाएको भए कति जाती हुन्थ्यो । तर सपना हो, सपनामै धेरै लामो यात्रा सम्भव हुँदैन । मनमा दाइसँगका बालपनका सम्झना खेलाउँदै निदाएँछु । अनि दाइ पनि सम्झिएर सपनामा आउनुभएछ ।

नियतिले दाइ (रवीन्द्र अधिकारी) लाई हामीबाट चुँडेर लगेर दिन हो फागुन १५ गते । दाइ सधैँ सम्झनामा अनि धेरैपटक सपनामा आइरहनुहुन्छ । यसपटक पुण्यतिथिको मौकामा आउनुभयो । उहाँ जानु भएको केही वर्ष बितिसके तर अझै पनि उहाँको स्मृतिमा, मायामा अनि श्रद्धामा आँखा रसाइरहन्छन् ।

उहाँसँग बिताएका पलहरु सिनेमाको रिलझैँ घुमिरहन्छन् । घरबाट निस्केपछि घाँस खसालेदेखि घर आइपुगिन्जेलसम्म गीत गाइरहनुहुन्थ्यो । म दाइको पछिपछि गीत सुन्दै हिँड्थे । मनमनै दाइसँगै गुनगुनाउदै घाँस समेलेको त्यो बालापनको समय सपनाबाट नबिउँझी पुरै सम्झनामा कैद गर्न मन थियो ।

दाइले गुनगुनाउने जनवादी गीत धेरै थिए । मैले सम्झेको भने ‘गाउँ गाउँबाट उठ’, ‘रातो भाले धुरीमा करायो गरिबको निसाफै हरायो’, ‘आमा दिदी बैनी हो’ मात्रै हो । बालपनमा दाइले गाएका सबै गीत सपनामा देखेर सम्झिन मन छ त्यसैले बिन्ति छ निन्द्रादेव अर्को पटक सपना देख्दै गर्दा नउठाउनु है ।

अर्को वर्ष उमेर बराबर

आज दाइको उमेर र मेरो उमेरको अन्तर अव एक वर्षको मात्रै छ । अर्को वर्ष हामी एउटै उमेरका हुनेछौ । दुई वर्षपछि म बाँचिरहेको हुन्छु भने एक वर्ष बढी मेरो उमेर हुनेछ । अवश्य दाइभन्दा म बुढो हुनेछु । दाइ सधैँ जवान रहनु हुनेछ । बाँचिन्जेल म जति नै बुढो भए पनि दाइका लागि म त्यही लन्ठ्याङ नै रहने छु भने दाइ मेरा लागि सधैँ आदरणीय, पूजनीय, मार्गदर्शक रहनु हुनेछ ।

दाइ नहुँदाको नियास्रोपन मेट्न के गरौँ कसो गरौँ हुँदा दाइका शुभ चिन्तकहरू, मलाई पनि माया मान्ने आदरणीयहरूले यो बर्षपनि छोटो संस्मरण लेख्नु न भनेर मलाई ऊर्जा थप्नु हुने ब्यक्तित्वहरूप्रति हार्दिक नमन । मेरो लेख लेख्नमा कुनै दक्षता नभएपनि मनमा बसेका सम्झनाहरूको केही अंशका प्रायः प्रसङ्ग बढी दाइसँगै म आफैको कुराहरू लेख्दै छु । आशा छ। यो लेखको अन्तिमसम्म सँगै हुनुहुनेछ ।

बाबाले गर्ने ठूलो ठूलो बाहिरको काममा दाइले सघाउने गर्नु हुन्थ्यो भने मैले आमालाई काममा सहयोग गर्थे । मेलापात गएका बेला भाइबैनीको स्याहारसुसार, खाजा खाना बनाउने काम म गर्थे । दूध दुहुने, घाँस–दाउरा, पानी दाइले गर्नु हुन्थ्यो । गाउँमा हलो जोत्दादेखि जापानमा छोराछोरीसँगै रेसम फिरिरी गीत गाउन र नाच्न सिकाउनु भएको घटनाहरू यसरी सम्झन्छु ।

मेलापातमा दाइ

दाइ प्रायः खाली बस्नु हुन्थेन, एक्लै पनि कहिल्यै हुनुहुन्थेन । म बरू एक्लै पनि खेल्थेँ, टोलाएर पनि बस्थेँ । दाइले साथी भाइहरूको टोली बनाएरै हिँडेको सम्झना आउँछ । गाउने, रमाउने फूर्तिलो ठिटो । जता गयो त्यसै आकर्षकको बिन्दु बन्नुहुन्थ्यो । बाहुन पुजारीको छोरो एक दिन हलिदाई बिमारी पर्दाको दिन आफैँ हलो र गोरूहरू लिएर जोत्न जानुभयो ।

हलो जोत्न कहिले सिक्नु भयो मेसो त पाइन । बाहुनको छोरो पनि हलो जोत्ने ? कता कता प्रश्न उठेको हो जस्तो लाग्छ । तर पनि दाइको त्यो प्रगतिशील सोच र मानवीय समानता अनि सामाजिक परिवेसलाई कसरी बिस्तारै परिवर्तन गरेर लान पर्छ भन्ने कुरामा प्रष्टै हुनुहुँदो रहेछ । धेरै पछि मैले पनि महसुस गरे ।

धान रोप्नलाई हलो जोत्न, कोदो रोप्न बाउसे, मकै छर्न सबैतिर उत्साहित भएर लाग्नु हुन्थ्यो । एकपटक दाइ बाउसे भएको बेला २२ जना खेतालालाई मैले एक्लै मकै पोलेर, सुक्खा रोटी हालेर खुवाउन भ्याएको थिएँ । त्यो बेला म १०-११ को वर्षको थिएँ । मुखभरी अँगारले कालै हुन्थेँ रे । दाइले मायाले गिज्याउनु हुन्थ्यो रे, म मुसुक्क हास्थेँ रे ! आमाले भन्नुभएको ।

दाइ घरबाहिर फूर्तिलो भएर काम गर्नुहुन्थ्यो । घर भित्रको काममा भने पानी बोक्ने, खसीको मासु पकाउने र खीर पकाउन बाहेक खाना बनाएको सम्झना छैन । हुन पनि हो ९ वर्षदेखि २२ वर्षको उमेर बीचमा जति हामी सँगै भयौँ । दाइको खाना खाजा मैले प्रायः बनाएँ । यसले अल्छी नमानी मिठो खाना पकाउँछ भनेर साथीभाइहरूसँग खुसी हुँदै भन्नुहुन्थ्यो ।

परिवारसँग दाइ

सुरूका केही वर्ष हजुरबाबा सहितको ठूलाबाबाको परिवार, हाम्रो परिवार सहितको सामूहिक ठूलो परिवार थियो । पछि ठूलोबाबाको परिवार बौमारामा झरेपछि हामी मात्र गाउँमा बस्ने भभयौँ । बाबा धेरै सरूवा भइराख्ने त्यो बेलामा पनि शास्त्री पास गर्नुभएको नेपाली विषयको गुरू हुनुहुन्थ्यो । बाबा घरमा कम बस्ने हुनाले कतिपय बेला दाइले सानै उमेरदेखि हामी सबैको एउटा बलियो आधार हुनुहुन्थ्यो ।

पछि बाबा पनि घरनजिकै सरूवा भएपछि भने दाइका पखेटा पलाइसकेका थिए । बाबालाई बाहेक बाँकी परिवारलाई थाहा थिएन, दाइ ७ कक्षादेखि विद्यार्थी राजनीतिको अभियन्ता बनेर विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेको । दाइले कलेज पढ्न थालेपछि त सबैले बुझ्यौ ।

यसै नबस्ने, एक्लै नहुने त दाइको सानै देखिको बानी । भाइबैनी र मलाई निकै माया गर्नुहुन्थ्यो । हाम्रा आफ्नै बानी अनुसार सबैलाई फरक फरक तरिकाले गाली पनि गर्नुहुन्थ्यो । अनि हामी भाइबैनी र मैले अभिभावकका रूपमा सधैँ सम्मान गर्थ्यौं । धेरै डराउँथ्यौ पनि । जति नै व्यस्त भए पनि चाड पर्वमा भने परिवारलाई समय दिनुहुन्थ्यो । तिहारमा त झन जस्तोसुकै अवस्थामा पनि आउनुहुन्थ्यो । पक्कै पनि बैनीको समधुर मायाले तिहारमा दाइको उपस्थिति रहेको हो । हामी सबै ठूला भएपछि तीन दाजुभाइ सँगै भएर बैनीको हातबाट तिहारमा टीका लगाउने सपना पनि अधुरै भयो ।

चेतना फैल्याउने भूमिका

कक्षा ७ पढ्दादेखि नै गाउँको एक अभियन्ताको रूपमा सक्रिय हुन थाल्नुभएको थियो । भाग्यको खेला यति चाँडै अर्कै लोकमा जान रैछ र पो दाइको छिटो र छरितो पारा रहेछ । अहिले अनुभूति हुँदैछ । दाइले भाग्य र परलोक भन्ने कुरा विश्वास नगरे पनि कर्मलाई आफ्नो धर्म मान्नुहुन्थ्यो । सामाजिक मान्यता संस्कृतिको सम्मान गर्नुहुन्थ्यो । समाजलाई विस्तारै विकसित गराउँदै रूपान्तरण गर्नुपर्छ भन्ने सोच्नुहुन्थ्यो । यसै मान्यतामा रहेर, गाउँ, समाज, देशलाई नै परिवर्तन गर्ने उत्साह र आकाङ्क्षा बोकेर असहज बाटो तर कत्ति पनि बिचलित नभइ सबै नीतिहरू प्रधान नीति राजनीतिको बाटो अँगाल्नु भएको रहेछ ।

गाउँका चाडपर्वमा सास्कृतिक पिकनिक आयोजना गरेर गाउँवासीसँगै राजनीतिक चेतनाका विषयहरू एक आपसमा बाँड्ने काम गर्नुभयो । उहाँ एक्लैले हैन, उहासँग साथीभाइको टिम थियो । गाउँलाई हराभरा, सुविधापूर्ण बनाउने योजना थियो दाइको । यातायात र खानेपानीको राम्रो व्यवस्था गर्न सफल हुनु भयो । बाँकी पर्यटकीय, उत्पादन बढाउने, बजार स्थापना गर्ने उहाँका घोषित लक्ष्यहरू अधुरै छोडेर जानुभएको छ । अब यो जिम्मा हामी गाउँबासीको काँधमा छ ।

पोखरा क्याम्पसदेखि त्रिविविसम्म

बहुदल नआउँदै क्याम्पसमा स्ववियूको सदस्य, अनि कार्यबाहक सभापति हुँदै सभापति भएर मुख्यतः विद्यार्थीका हकहितको लागि धेरै काम गर्नुभयो । विद्यार्थीलाई स्वरोजगार कसरी बन्नेदेखि राजनीतिक प्रशिक्षण पनि दिनुभयो । बहुदल आउनु अगाडि र पछाडिका फरक समयमा पनि परिस्थितिसँग आवश्यक सन्तुलन कायम राख्दै विद्यार्थी हकहितका लागि ठूलो योगदान दिनुभयो ।

म दाइको कार्यकालमा दुई वर्ष जति कलेज पढेँ पोखरामा । यो गर्नु, यो नगर्नु केही भन्नु हुन्थेन । जे गर्ने हो त्यसमा मन लगाएर गर्नुपर्छ भन्नुहुन्थ्यो । हुन पनि कलेज पहिलो वर्ष त उत्साहित भएर लाग्दै थिएँ, एउटा सपना बोकेर । त्यो सपना राजनीतिभन्दा फरक बाटो थियो । विशेष कारणबस त्यो सपना टुटेपछि मेरो उत्साह घटेको थियो । दाइले त्यो थाहा पाएपछि हल्का निगरानी गर्दै अरूलाई पनि मेरो बारेमा बुझ्न लगाउनु हुँदोरहेछ । यसै क्रममा दाई काठमाडौ गइसक्नु भएको थियो । म पनि डिप्लोमा अध्ययनका लागि गएँ । दाजु भाइ सँगै बस्यौँ ।

दाई त्रिविवि सभापति हुनुभयो । म कार्यकर्ताका रूपमा दाइको सहयोीगको भूमिकामा रहेँ । दाइकै आग्रहमा कम्प्यूटर सिक्न थालेँ । केही समयपछि एमाले पार्टी कार्यालयमा दुईजना कम्प्यूटर अपरेटर आवश्यक भएछ । कम्प्यूटर अपरेटरको रूपमा काम गर्न सक्षम भइसकेको थिएँ । प्रतिस्पर्धा सँगै पार्टीको पनि महत्वपूर्ण सूचनाहरूको गोपनीयता राख्नुपर्ने चुनौती पनि थियो । सानैदेखि दाइ हेर्दै अनि बुझ्दै हुर्किएकाले स्वाभाविक रुपमा गोपनीयता राख्ने, इमान्दारीपूर्वक मेहनत गर्ने त सिकिसकेको थिएँ नै । सायद, धेरै कुराहरूले दक्ष र परिपक्व देखेरै म पार्टी कार्यालयको जिम्मेवार कर्मचारीको रूपमा रोजिएँ ।

एकपटकको कुरा– कुनै बेला को प्रधानमन्त्री बन्दैछ भन्ने प्रसंग थियो । अहँ मैले कम्प्युटरमा लेख्नेबाहेक कसैसँग पनि एक शब्द खोलिन । केही समय पछि प्रसङ्ग चल्यो यो विषयमा । मैले भनेँ, दाइ, यो खबर त मलाई दुई महिना अगाडि नै थाहा थियो भनेँ ।

‘यस्तो कुरा पनि तैँले एक शब्द मसँग पनि गरिनस है, तेरो गोपनीयता राख्न सक्ने कुरालाई मानेँ’ भन्दै खुसी हुनु भएको थियो । यस पार्टीको डेटा अपरेटरको कामका लागि मलाई रोज्ने पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रति सदा आभारी रहने छु त्यसबेला उहाँ पार्टी कार्यालय सचिव अर्थात मेरो हाकिम हुनुहुन्थ्यो । त्यो बेलाको अनुगमन विभागका प्रमुख भरतमोहन अधिकारीको निर्देशनमा यही विभागमा काम गर्ने मौका पाएँ । उहाँ हामीबीच नभए पनि सधैँ सम्झनामा ।

जापानको भेट

सानैमा एउटा सपना चकनाचुर हुँदै गर्दा अन्त खासै रम्न सकेको थिइनँ । पार्टी कार्यालयको काम भने पूरा मेहनत लगाएर गरेको थिएँ । यो कुरा दाइलाई थाहा थियो । मेरो मन नेपालमा पटक्कै थिएन । दाइको रहर नेपालमै बसेर विश्वविद्यालय जाँदै नेपालमै करिअर बनाए हुन्थ्यो भन्ने थियो । सम्भवतः हाम्रै पालादेखि कम्प्यूटर सिक्ने लहर चलेको अनि नेपालमै धेरै अवसरहरू देखेरै दाइले यसो भन्नुभएको थियो ।

उहाँको दूरदर्शिता अचम्मकै थियो । अचेल बुझछु । हरेक क्षेत्रमा भोलि, धेरै पछिसम्म सोच्न सक्ने दूरदर्शी नेता हुनुहुन्थ्यो उहाँ । अभिभावक पनि । हो, साँच्चै उहाँ अझै बाँच्न पाउनु भएको भए हाम्रो गाउँको, हाम्रो देशको लागि केही न केही योगदान रहने थियो ।

जापान आउँदाको कुरा । उहाँ यहाँ आउँदा ‘आहा जापान’ भनेर मात्रै फर्कने कुरा भएन । उहाँको स्वाभावै त्यस्तो थिएन । दुईपटक जापान भ्रमणमा विभिन्न क्षेत्रमा विशेष चासो दिएर घुम्नुभयो । प्रश्नहरु गर्नु भयो । जापानको विकासको रफ्तारको सुरूवाती चरण भौतिक संरचना थियो । यो बुझ्नु भयो ।

नेपाल र जापानको भौगोलिक स्थिति फरक छ । समुद्रले घेरिएको देश भित्रको भौतिक संरचना फराकिला सुपर एक्प्रेस हाइवे, हाइवे, बाइपास, रेगुरल रोड, अत्यधिक पुल र सुरूङ्ग मार्ग, प्रशस्त विद्युत, ग्यास, पानी, सञ्चारलाई पूर्ण प्राथमिकता दिएर जापानले अर्थतन्त्रमा फड्को मारेको हो । ती सबै बुझ्दै यहाँका अनुशासित र मेहनती नागरिकप्रति दाइले चासो दिनुभएको थियो ।

ठ्याक्कै जापानको मोडल नेपालमा लागू हुने कुरा त भएन । तर पनि बाटोघाटोदेखि अरु भौतिक संरचनाका क्षेत्रमा नेपालको संसद विकास क्षेत्रका अध्यक्षको रूपमा पनि धेरै महत्वपूर्ण कुराहरू, बहसहरू, नेपाली विज्ञहरूको प्रोफाइल पनि निष्पक्ष, राजनीतिक पूर्वाग्रह बिना बाहिर निकाल्ने प्रयास गर्नुभयो ।

जापान आउँदा मेरा छोराछोरीसँगै ओकायामा पनि केही दिन बितायौँ । टोक्योबाट दाइ, भाइ र मसहित तीन भाइ भएर गयौँ । जापानको परिवारसँग सहजै घुलमिल हुनुभयो । साँझ खाना खाँदै रेसम फिरिरी गीत गाउनु भयो । आफू नाच्नु भयो अनि छोरा छोरीलाई पनि नचाउनु भयो । म भने लाजले नाच्न सकिरहेको थिइनँ ।

‘हे… केको लाज मान्छस्, आइज नाच’ भन्दै भाइ र मलाई पनि नचाउनुभयो । कति हल्का थियो उहाँको शरीर । गीत, संगीत, साहित्य, कलाप्रति प्रेम राख्नुहुन्थ्यो । कलाकार, सर्जकप्रति सम्मान थियो ।

आज त्यो उपहार मलाई छोडेर जानु भएको हो जस्तो लाग्छ दाइले । वरिपरी दाइसँग नजिक रहनु भएका आदरणीय सबैको सहयोगमा आज म कमसेकम मनका भावना पोख्न सक्ने भएको छु । जापानमा बसेर पनि रात दिन नेपाल सम्झँदै, गीत, कविता, समसामयिक लेख लेख्ने गरेको छु । बेलाबेला लाग्छ, एक्कासि कसरी मेरो कलम चलेको । यी सबै दाइकै आशिर्बादले भइरहेको छ ।

अब्बल क्षमता

कुनै कार्यकारी भूमिकामा रहँदा अथवा नरहँदा देशको प्रशासन, कर्मचारीतन्त्रसँग पनि राम्रो सम्बन्ध राखेर रफ्तारमा प्रभावशाली काम गर्न सक्ने क्षमता राख्नु हुन्थ्यो । मिडियाहरूको पनि साथ थियो । तर अन्तिम समयमा भने किन हो अत्यन्त पूर्वाग्रसहित लागेका थिए केही मिडिया ।

‘धान खाने मुसो चोट खाने भ्यागुतो’ नेपाली उखानजस्तै आरोपित बनाए । यसमा जो जिम्मेवारी हुनु पथ्र्यो ती अझै पनि छैटौंपटक प्रधानमन्त्री बन्ने दाउ खेलेर बसेका छन् । यस अर्थमा कतिपय मिडिया पावर र पैसाको लागि बिजनेस हाउसै हो भन्न किन लजाउन पर्यो र ?

आरोप भित्रको वास्तविकता व्यवस्थित तरिकाले बाहिर ल्याउँदै हुनुहुन्थ्यो बीच बाटोमै भगवानको प्यारो हुनुभयो । जीवनमा देशका लागि धेरै समय परिवारका लागि एकदमै कम समय दिएर सधैँ व्यस्त व्यस्त भएर जानुभयो ।

बेलाबेला ठूलो स्वरले भन्न मन लाग्छ– थोरै फुर्सद निकालेर आनन्दको सास फेर्न दुई पल दाइसँग किन हामी भाइ बैनीले पाएनौँ ? बाबा आमाले किन ठूलो छोरासँग यति धेरै गुनासा पोख्न पाउनु भएन । भाउजू, छोरा छोरीहरूले किन सँगै लडिबुडी खेल्न पाएनन् ? सिङ्गै परिवारको खुसी लामो समय साट्न किन पाएनौं ?

दुर्घटनाको एक हप्ता अघिदेखि दाइसँगै नेपालमै थिएँ । सँगै बेलुकाको खाना खाने, बेलाको आधा घण्टा समय पाएको थिएँ । ती पल आज मेरो, हाम्रो परिवारको बाँच्ने आधार, अनि दाइलाई म पनि ठूलो भएपछि अझै बुझ्ने अवसरको रूपमा बुझेको छु । आफू अन्तै टाढा जान रहेछ र मलाई बोलाएर सँगै अलिकति फुर्सदको समय बिताउन खोज्नु भएको रहेछ ।

‘भाउजूलाई पनि ल्याउनु है दाइ अर्काे पटक जापान आउँदा’ यसो भनेको थिएँ मैले तर दुवैजना एकसाथ जापान आएर परिवारसँग भेटघाट गर्ने सपना अधुरै रहयो । मैले त्यसो भन्दा छोरी रिना सँगै थिइ । उसले थप प्रस्ताव राखेकी थिइ, ‘बिराज, स्वराज भाइलाई पनि लिएर आउनु है ।’

दाइले वाचा गर्नुभएको थियो तर अधुरै रह्यो । दाइले छोरीलाई भाइ केनलाई लिएर नेपाल आउने जाने गर्नु है भन्नुभएको थियो । त्यही सम्झेर छोरीको विद्यार्थी जीवन सकेर नयाँ काम सुरू हुनुभन्दा अगाडि केनलाई लिएर नेपाल जाँदैछन् केही दिनका लागि । हजुरबाबा हजुरआमा, ठूलो ममी, दिदी, भाइ बैनीहरू र आफन्त भेट्न जाने भनेका छन् ।

यसरी परिवारभित्र छोटै समय भए पनि गहिरो छाप र माया छोड्न सक्ने कला थियो दाइसँग । दाइकै यही माया ममतामा पूजनीय बाबाआमासँगै दाइको परिवार, भाइको परिवार, बैनीको परिवार, मेरो परिवार हरेक सुख दुःखमा सधैँ सँगै छौं । हामी सबै एकै परिवार छौं । सम्पूर्ण आफन्त, नातेदार, साथी भाई शुभचिन्तक, गाउँघर, छिमेकीको माया र साथ यसरी नै मिलिरहने छ । दाइले सधैँ हामीलाई देखिरहनु भएको छ । शक्ति प्रसारण गरिरहनु भएको छ ।

भाउजूलाई फेरि पनि चुनावमा भारी मत अन्तरले जिताएर कास्की क्षेत्र नम्बर २ का जनताले पठाएका छन् । बाँकी देशको हालत यस्तै छ । साँच्चै, देशको हालतको बारेमा यसपाला केही भन्दिन दाइ । खबर भनेँ भने तपाई रूनु हुनेछ । उता आनन्दले आराम गर्नुभएको छ । नेपालको खबर सुनेपछि आत्तिएर यतै आउनु हुन्छ कि भन्ने चिन्ताले खबर केही भन्दिन दाइ । माफ गर्नु है । आशा छ दाइ, छिटै राजनीतिको धमिलो पोखरी सङग्लिएर आफ्नो लय र गतिमा सञ्चालन हुनेछ । गतिशील बन्ने छ । सागर भेट्न दौडने छ । अनि त्यही गतिमा नेपालको समृद्धि पनि ।

***

रविन्द्र अधिकारीबारे…

जुझारू युवा नेताका रूपमा लोकप्रिय रहेका रविन्द्र अधिकारीको २०७५ फागुन १५ गते अल्पायुमै दुःखद निधन भएको थियो। अनेरास्ववियुका अध्यक्ष रहिसकेका उनी संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट उल्लेख्य बहुमतका साथ विजयी बनेका थिए ।

नेपाली राजनीतिमा उनको छोटै समयमा पनि उल्लेख्य योगदान छ । २०३७ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका उनकै अग्रसरतामा विद्यार्थीले यातायातमा पाउने छुटको व्यवस्था भएको थियो । विद्यार्थी बेलैदेखि राजनीतिमा चासो राख्दै उनी सांगठनिक गतिविधिमा सामेल भएका थिए। यहीकारण उनी २०४४ मा पृथ्वीनारायण क्याम्पस पोखराको क्याम्पस कमिटी अध्यक्षदेखि विभिन्न तहको जिम्मेवारी हुँदै २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए। २०५६ मा अनेरास्ववियुका केन्द्रिय अध्यक्षमा निर्वाचित भएर महत्वपूर्ण जिम्मेवारी पाएका थिए ।

शिक्षामा भएको निजीकरण र व्यापारीकणको उनी सधैं विरोधी थिए। यसलाई हटाउन उनले गरेको संघर्ष स्मरणीय मानिन्छ। नेपालमा प्राविधिक शिक्षाको विस्तार र गुणस्तर सुधारिनुपर्छ अनि सबैका लागि गुणस्तरीय शिक्षा सुलभ हुनुपर्छ भनेर आन्दोलनको अगुवाइ पनि गरेका थिए । ‘कालापानी मार्च’ भनेर चर्चित आन्दोलन उनकै नेतृत्वमा भएको थियो ।

लोकप्रिय नेता भएकैले २०७४ सालको आम चुनावमा कास्कीबाट तेस्रोपटक निर्वाचित हुन सफल भए। पार्टी एकीकरणपछि तत्कालीन नेकपाका केन्द्रिय सदस्य अनि ओली सरकारको दोस्रो मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका अधिकारीले पर्यटन क्षेत्रमा सुधारका थालेको पहल प्रशंसनीय छ। उनले थालेका कतिपय कामहरु अब पूरा हुने चरणमा छन् । मन्त्री रहेकै बेला कामका सिलसिलामा ताप्लेजुङ जाँदा हेलिकप्टर दुर्घटनामा उनको निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *