हत्या गरी बोरामा शवः श्रीमानसहित चारजना पक्राउ

विराटनगर । आफ्नै पत्नीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १९ की २८ वर्षीया प्रियंका सुनारको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान् सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार मोरङको कटहरी गाँउपालिकाका ६२ वर्षीय रामानन्द राम, ३५ वर्षीय उमेश सरदार, विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरी र विराटनगर–१९ का मृतकका पति २९ वर्षीय रमेश साहलाई पक्राउ गरिएको छ ।

सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित अमाहीस्थित नरसिंह चौधरीको गाई गोठमा सुनारको शव प्लाष्टिकको बोरामा फेला परेको थियो ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा राम र साहलाई पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता कार्कीले पक्राउ परेको दुवै जनासँग सोधपुछ गर्दा सरदार र चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।

मृत फेला परेकी सुनारको शरीरभरि चोटपटक भेटिएपछि प्रहरीले नरसिंहसँग पनि सोधपुछ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुनारलाई नरसिंहको घरभित्र हत्या गरेर शव बोरामा पोको पारेर गाई गोठमा फालिएको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *