प्रदेश १ र वाग्मती प्रदेशका उच्च भेगमा हिमपातको सम्भावना

काठमाडौं । प्रदेश १ र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा सोमबार हिमपात हुन सक्ने सम्भावना छ । आंशिकदेखि सामान्य मौसम बदली भइ हिमपात हुन सक्ने देखिएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका एक–दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लागेको छ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसमी अवस्थामा असर गरिरहेको छ।
आज राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानहरूमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ ।
भोलि मंगलबार मौसम बदली भइ प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार प्रदेश १ र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।