पूर्वराजाको सहकार्य प्रस्तावको कुनै अर्थ छैन: ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी बाँकी रहेको भन्दै आलोचना गरेका छन् । राजनीतिक दलहरुसँग सहकार्य गर्ने पूर्वराजाको प्रस्तावको कुनै अर्थ ओलीले बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ बोल्दै ओलीले आइतबार यस्तो बताएका हुन् ।

२ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै ओलीले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको अवस्थामा आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्यको प्रस्ताव राखेका थिए ।

‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । उहाँलाई अझै पनि त्यो पुरानो झल्को आइराख्छ’ ओलीले भने, ‘त्यो झल्काले, दुई चारजना मान्छे वरपर देख्यो भने उहाँलाई अलिअलि जोस्याउँछ । यतिमात्र हो ।’

एमाले अध्यक्ष ओलीले हालको दलीय समीकरण बन्दाकै अवस्थामा राष्ट्रपति को बन्ने भन्ने निधो भइसकेको भन्दै एमालेका उम्मेदावारलाई अरुले सघाउने दाबी पनि गरेका छन् ।

राष्ट्रपतिमा एमालेले उम्मेद्वार उठाउने जानकारी दिंदै उनले यसका लागि सबैको सहमति जुटाइने उल्लेख गरे ।

राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पनाभन्दा बाहिरको भएको उनको भनाइ थियो । राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको ओलीले बताए ।

कतिपय माओवादी नेताहरूले नै राष्ट्रपति एमालेलाई दिने भन्ने सहमति आफूहरूलाई थाहा नभएको बताइरहेका छन् नि भन्ने जिज्ञासामा ओलीले माओवादीका सबै नेता–कार्यकर्तासँग सहमति गर्ने कुरा नभइ मुख्य नेतासँग सहमतिको कुराले अर्थ राख्ने बताए ।

एमालेबाट को राष्ट्रपतिको उम्मेद्वार हुन्छ भन्ने कुरा फागुन १३ गते हुने मनोनयनकै दिन थाहा हुने ओलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *