पठाएको सय वर्षपछि गन्तव्यमा पुग्यो चिठी !

काठमाडौं । चिठीपत्र हुलाकबाट पठाएको धेरै समयपछि मात्र सम्बन्धित व्यक्तिकहाँ पुगेका धेरै उदाहरण छन् नेपालमा । अचेल हुलाकको प्रयोग पहिलेजस्तो धेरै छैन । जतिबेला हुलाकको धेरै प्रयोग हुन्थ्यो, चिठीपत्र सम्बन्धित ठेगानामा पुग्दै नपुग्ने वा धेरै समयपछि पुगेका उदाहरण प्रशस्त हुन्थे ।

यस्तो हुने नेपालमा मात्र होइन, विदेशमा पनि हुँदोरहेछ । ढिलो चिठी पुगेको लण्डनको एउटा घटना रोचक छ ।

लेखिएको एक शताब्दी (सय वर्ष) पछिमात्र चिठी गन्तव्यमा पुगेको उदाहरण हो यो । सन् १९१६ फेब्रुअरीमा पठाइएको चिठी दक्षिण लण्डनको ह्यामलेट रोडमा रहेको ठेगनामा पुगेको छ ।

त्यति लामो समयपछि चिठी आइपुग्दा त्यहाँका बासिन्दा चकित परेको ‘सिएनएन’ ले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

चिठीमा उल्लेख गरिएको मितिको अन्त्यमा ‘१६’ लेखिएकाले स्थानीय बासिन्दाले २०१६ मा पठाएको भन्ने ठानेका रहेछन् । तर चिठीको खाममा रानीको साटो राजाको तस्बिर देखेपछि भने २०१६ होइन भन्ने यकिन गरिएको थियो ।

केही समयअघि उक्त चिठी त्यस स्थानमा पुगेको भए पनि हालैमात्र त्यसलाई स्थानीय ‘हिस्टोरिकल सोसाइटी’ लाई बुझाइएको छ । त्यसबारे अनुसन्धान गर्न सकिने उद्देश्यले सोसाइटीलाई बुझाइएको स्थानीय फिनले ग्लेनले ‘सिएनएन’ लाई बताएका छन् ।

चिठी राखिएको खाममा बेलायतका राजा जर्ज पाचौँको एक पेन्सको टिकट टाँसिएको छ ।

उक्त चिठी महारानी एलिजाबेथ द्वितीयको जन्म हुनुभन्दा एक दशकअघि पहिलो विश्वयुद्धको बीच अवधिमा पठाइएको पाइएको छ ।

त्यहाँको हुलाक सेवा ऐनअनुसार आफूलाई सम्बोधन नगरिएको कुनै पनि चिठी खोल्नु नहुने नियम छ । त्यही भएर नखोजी सोसाइटीलाई दिइएको थियो ।

उक्त चिठी ऐतिहासिक चासोको विषय हुन सक्ने बुझेर स्थानीय एक पत्रिकालाई पनि दिइएको थियो ।

पत्रमा ‘माइ डियर केटी’ भनेर सम्बोधन गरिएको छ । केटी नामकी महिला स्थानीय स्ट्याम्प म्याग्नेट ओसवाल्ड मार्शकी पत्नी रहेको खुलेको थियो ।

हेनरी टुक मेनेल नामका चिया व्यापारीकी छोरी क्रिस्टबेल मेनेलले उक्त चिठी लेखेकी थिइन् । पश्चिमी इंग्ल्याण्डको बाथ क्षेत्रमा छुट्टीमा गएका बेला उनले चिठी लेखेकी थिइन् ।

उनले पत्रमा यस्तो लेखेकी छन्– ‘म यहाँ धेरै चिसो भएका कारण धेरै दुःखी भएकी छु ।’

चिठी ग्लेनको ठेगानासम्म कसरी आयो भन्ने पनि चासो र खोजीको विषय बनेको छ ।

बेलायतको ‘रोयल मेल’ का प्रवक्ताले यस्ता घटनाहरु कहिलेकाहीँ हुने गरेको उल्लेख गर्दै यस घटनामा के भएको थियो भन्नेबारे यकिन नभएको बताएका छन् ।

चिठी कतै राखिएको अवस्थामा त्यहीँ अलपत्र बनेको हुन सक्ने र पछि त्यसलाई हुलाकी प्रक्रियामा समावेश गरिएको हुन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *