देशभरका शिवालयहरूमा महाशिवरात्रि चहलपहल

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको चहलपहल देखिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।
पशुपति क्षेत्रमा नेपालका विभिन्न स्थानका साथै भारतबाट आएका साधुसन्त र भक्तजनहरुको चहलपहल छ । पशुपतिनाथको दर्शन र पूजा गर्न शुक्रबार साँझदेखि नै भक्तजन भेला हुन थालेका थिए ।
आज दर्शनका लागि बिहान ३ बजे पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
शिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई आकर्षक रुपमा सिँगारिएको छ । शिवरात्रिमा पशुपतिनाथ मूलमन्दिरमा २० लाख दर्शनार्थीले प्रत्यक्ष दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।
शिवरात्रिमा पशुपति क्षेत्र पुग्ने भक्तजनलाई व्यवस्थापन गर्न चार हजार स्वयंसेवक खटिने कोषले जनाएको छ ।
खोटाङको हलेसी महादेवस्थान, धरानको पिण्डेश्वरलगायत मुलुकका अन्य स्थानमा रहेका शिवालय र धामहरुमा बिहानैदेखि भक्तजनहरुको चहलपहल छ ।