रेलमार्गले डुबान नहुने संरचना बनाउन माग

विराटनगर । भारतको बथनाहाबाट मोरङको कटहरीसम्म आउने मालबाहक कार्गो रेलको मार्ग बनाउँदा डुबान हुने र अत्यावश्यक सवारी साधनहरु आउजाउ गर्न नसक्ने अवस्थालाई ख्याल नगरिएको सरोकारवालाले बताएका छन् ।

विराटनगरस्थित मोरङ जिल्ला प्रशासन कार्यालयमा आज भएको छलफलका सहभागीले स्थानीय बासिन्दालाई मर्का नपर्ने गरी रेल मार्ग बनाउन माग गरेका हुन् ।

छलफलमा सहभागी जनप्रतिनिधिहरुले रेलमार्गका लागि साबिकभन्दा अग्लो भूसतह बनाइएकाले वर्षायाममा पानीको निकास हुन नसकेर विराटनगर महानगर तथा आसपासका क्षेत्रहरु जलमग्न र डुबान हुने बताएका थिए ।

विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले रेलमार्ग बनाइएको स्थान अग्लो भएकाले वर्षाको पानीले निकास नपाउँदा डुबान हुने जोखिम रहेकाले त्यस्तो हुन नदिन बेलैमा सावधानी अपनाउन आग्रह गरेका थिए ।

सर्वसाधारणको बस्ती डुबान हुनबाट जोगाउनका लागि विभिन्न स्थानमा पानीको निकासका लागि सहज संरचना बनाउनुपर्ने माग जनप्रतिनिधिहरुले गरेका थिए ।

यसैगरी रेलमार्गको भेडियारीबाट कटहरीसम्मको खण्डमा बीचमा हुलाकी राजमार्ग पर्ने भएकाले त्यहाँ रेल सञ्चालन हुँदा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक साधनहरुलाई आउजाउ गर्न कठिनाइ हुने उनीहरुले बताएका छन् ।

रेले आउने क्रममा उक्त सडक खण्डमा रेल आउनु अघि र पछि गरी एक घण्टा सवारी साधन चल्न रोक लगाइने भएकाले बिरामी बोकेका एम्बुलेन्स र आगलागी नियन्त्रण गर्न परिचालन गरिने दमकल समयमै गन्तव्य पुग्न अवरोध हुने उनीहरुको भनाइ थियो ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले उक्त स्थानमा ‘फ्लाइओभर’ बनाइए मात्र अत्यावश्यक सवारी साधन निर्बाध रुपमा सञ्चालन हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

नेपालको औद्योगिक क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ एवं अन्य सामग्री सहज ढुवानीका लागि बथनाहा–कटहरी रेलमार्ग निर्माण भइरहेको हो । निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

भारतीय भन्सार बिन्दुबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्मको ८ किलोमिटरमा विभिन्न संरचना निर्माण भइसकेको छ । भारतको बथनाहाबाट कूल १८ किलोमिटर दूरीको रेलमार्गका लागि रेल कुद्ने लिक, स्टेशन, कार्यालय भवनलगायत पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको हो ।

रेल विभागका अनुसार निर्माण सम्पन्न भएपछि भारतले औपचारिक रुपमा नेपाललाई हस्तान्तरण गर्नेछ । १८ किलिोमिटर रेलमार्गमध्ये भारततर्फ पाँच किलोमिटर पर्छ । नेपालतर्फ भन्सार बिन्दुबाट करिब १३ किलोमिटर क्षेत्र पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *