यस्तो छ स्ववियु निर्वाचनको कार्यतालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन ।

यसपटक भने त्रिवि कार्यकारी परिषद्ले चैत ५ गते गर्ने निर्णय गरेअनुसार कार्यतालिका सार्वजनिक भएको हो ।

स्ववियु निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गते हुनेछ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यतालिका सार्वजनिक गरेका हुन् ।

चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय तोकिएको छ ।

फागुन १९ गते विद्यार्थी संघ, संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोधको मिति तोकिएको छ ।

फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

निर्वाचनको प्रचार–प्रसारका लागि फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *