प्रेमभाव साटासाट गरी ‘भ्यालेन्टाइन डे’ मनाइँदै

काठमाडौं । आज फेब्रुअरी १४ । यो दिनलाई, ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रणय दिवस’ का रुपमा विश्वका विभिन्न मुलुकमा मनाउने गरिएको छ । पछिल्लो समय नेपालमा पनि यो दिवसप्रति युवाहरु आकर्षित भएका छन् ।

यस अवसरमा आपसमा प्रेमभाव साटासाट गरी मनाइने गरिन्छ । हरेक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाइन्छ ।

यस अवसरमा प्रेमी–प्रेमिका नभएका युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने गर्दछन् । युवायुवतीले प्रेमको प्रतीक गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्छन् ।

प्रेमभक्त ‘भ्यालेन्टाइन’ लाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । सेन्ट भ्यालेन्टाइन नामका पादरीको बलिदानसँग यो पर्व सम्बन्धित छ ।

तत्कालीन रोमका सम्राट क्लाउडियस द्वितीयले प्रेम र विवाहमा युवाहरु आकर्षित भए सैनिक सेवा प्रभावित हुन्छ भनेर त्यसलाई प्रतिबन्ध लगाएका थिए । तर, सम्राटको उक्त निर्णयलाई भ्यालेन्टाइनले धर्मविरुद्ध भएको भन्दै उल्लंघन गरेका थिए ।

राजाको आज्ञा बेवास्ता गर्दै उनले प्रेम र विवाहका लागि युवालाई प्रेरित गरेका थिए । उनले युवा जोडीहरु तयार गरी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम गरेका थिए ।

राजाको आदेश उल्लंघन गरेको आरोपमा उनलाई ईसा पूर्व २७० फेब्रुअरी १४ कै दिन मृत्युदण्ड दिइएको इतिहास छ । उनै पादरीको बलिदानको सम्झनामा यो दिनलाई ‘भ्यालेन्टाइन डे’ का रुपमा मनाउने गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *