महाशिवरात्रिका लागि पशुपतिनाथ परिसरमा तयारी गरिँदै

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा तयारी धमाधम भइरहेको छ । पशुपतिनाथ दर्शनका लागि आउने श्रद्धालु भक्तजनलाई सहज होस् भनेर सफाइ, रंगरोकन र अस्थायी पूर्वाधार बनाउने काम भइरहेको छ ।

मन्दिर परिसरमा सफाइ अभियान सञ्चालन गरिएको छ । सफाइ कार्यक्रमका सिलसिलामा सहभागी भउका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिए ।

विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उनले बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भक्तजन, स्थानीय संस्थाहरुको सहभागितामा सफाइ गरिएको हो ।

मूल समारोह समितिअन्तर्गत गठिन उपसमितिले महाशिवरात्रिका दिनसम्म प्रत्येक दिनजसो सफाइ अभियानलाई निरन्तरता दिने जनाइएको छ ।

महाशिवरात्रिका अवसरमा कोषले लिङ्ग पुराण आयोजना गर्ने भएको छ । महाशिवरात्रि पर्व फागुन ६ गते शनिबार परेको छ ।

त्यस अवसरमा जगन्नाथपुरीस्थित गोवर्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि सहभागी हुने सम्भावना रहेको जनाइएको छ । कोषले उनलाई निमन्त्रण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *