चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसमा १६ सय उजुरी

काठमाडौं । मंसिर ४ भएको आम निर्वाचनमा ‘अन्तर्घात’ भएको सम्बन्धमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा १ हजार ६ सय उजुरी परेका छन् ।
सबैभन्दा धेरै मधेस प्रदेशबाट ५५५ र गण्डकी प्रदेशबाट सबैभन्दा कम ९३ उजुरी परेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ ।
४३ जिल्लाबाट केही केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्वजिल्ला सभापति, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्यलगायत कारबाहीको सिफारिसमा छन् ।
कारबाहीमा परेका र उजुरी परेका कतिपय नेता माओवादी उम्मेदवार भएका निर्वाचन क्षेत्रमा बागी उम्मेदवार बनेका थिए ।
तत्कालीन पाँच दलीय गठबन्धनलाई असहयोग गरेको भन्दै केन्द्रीय सदस्य दिनेश कोइराला, पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदी, महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कैलालीका पूर्वजिल्ला सभापति गोविन्दराज जोशीसहित ८५ जनालाई कांग्रेसले कारबाही गरिसकेको छ ।
निर्वाचनपछि माओवादी केन्द्र नै कांग्रेससँग गठबन्धनमा नरहेको अवस्थामा पार्टीमा विद्रोह गर्नेलाई के गर्ने भन्नेमा कांग्रेसमा अन्योल छ ।
कांग्रेसले चुनावमा अन्तर्घात गर्नेविरुद्ध माघ मसान्तसम्म उजुरी गर्न समय दिएको थियो ।