अमेरिकामा रहेका साथीको फेसबुकबाट रकम माग्दै ठग्ने पक्राउ

काठमाडौँ । अमेरिकामा नेपाली साथइको फेसबुक प्रोफाइल ह्याक गरी रकम ठगेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा १९ लामाचौर घर भएका २३ वर्षीय आशीष परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले अमेरिका बस्ने नेपालीको फेसबुक खाता ह्याक गर्दै खाता प्रयोगकर्ताका साथीसँग पैसा मागेर ठगी गरेका थिए ।

त्यसरी सहयोग मागिएकामध्ये ५० हजार सापटी दिएकामा फिर्ता नगरेपछि सम्बन्धित व्यक्तिले सोधीखोजी गर्दा फेसबुक ह्याक भएर ठगी भएको खुलेको थियो ।

साथीको सामाजिक सञ्जालबाट तत्काल केही रकम आवश्यक परेकोले मेरो खातामा केही रकम जम्मा गरिदिनु भनी बैंक खाता समेत उल्लेख गरेको म्यासेज प्राप्त भएपछि ती व्यक्तिले ५० हजार रुपैयाँ बैंक ट्रान्सफर गरेका थिए ।

प्रहरीका अनुसार त्यही म्यासेजको आधारमा ती व्यक्तिले रकम पठाए पनि दुई दिनसम्म साथीसँग कुनै सम्पर्क नभएपछि साथीको नजिकका अर्का साथीसँग सम्पर्क गरी जानकारी माग्दा सो सामाजिक सञ्जाल ह्याक भएको जानकारी प्राप्त भएको थियो ।

साथीको प्रोफाइल ह्याक गरी ठगी गर्ने उपर कारबाही गर्न माग गर्दै ब्युरोमा उजुरी परेसँगै ब्युरोको टोलीले परियारलाई पक्राउ गरेको हो ।

उनले सोही प्रोफाइल मार्फत सरसहयोगको विभिन्न बहाना बनाएर डिजिटल वालेटहरूमा रकम पठाउन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

परियारलाई सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसुरमा दुई म्याद थप लिएर भई आवश्यक अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी पशुपतिकुमार रायले जानकारी दिए ।

-सांकेतिक तस्बिर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *