महाशमसानमा चिताअघि नगरबधूहरूको नृत्य

नृत्य चेतनाको उन्नत रुप हो भने चिता त्यही शून्यमा विलीन हुनु हो । चिता र चेतनाको अदभूत संयोग असम्भव छ तर बनारसको मणिकर्णिका घाटमा यो अदभूत घटना सम्भव भैदिन्छ हरेक चैत्र नवरात्रीमा अष्टमीको राति ।

जब भारतभरिबाट आएका नगरवधू (वेश्या) हरु तिनै बलिरहेको चिताको वरिपरि नाचेर जीवनको क्षणभंगुरतालाई वोध गराउँदछन् ।

नृत्यको रुपमा एकातर्फ जीवन र जलिरहेको चिताको बीच मोक्ष र मायाको यस्तो अलौकिक प्रतिस्पर्धा हुन्छ । जसको साक्षी बन्छ काशीको मणिकर्णिका घाट र त्यो अदभूत नृत्यको रसस्वादन गर्न आएका दर्शक ।

रातभरि नाचेर पनि नगरवधूहरुले पैसा लिदैँनन् । उनीहरु यो विश्वासका साथ नाच्छन् कि यहाँ नृत्य गरेपछि मोक्ष प्राप्त हुन्छ र अर्को जन्ममा नगरवधू भएर फेरि जन्मिनु पर्दैन ।

साढे तीनसय वर्षभन्दा पुरानो यो परम्परा अहिलेसम्म जीवित छ र अचम्म यसका बारेमा अहिलेसम्म कुनै सिनेमा या डकुमेन्ट्री बनेको छैन ।

यस अदभूत परम्पराको शुरुआत राजा मानसिंहको पालामा भएको मानिन्छ । राजा मानसिंहले त्यो बेलाका नामचलेका कलाकार र नर्तकीहरुलाई आफ्नो कलाको प्रदर्शन गर्न बाबा मसाननाथको मन्दिरमा बोलाएका थिए ।

तर यो मन्दिर मणिकर्णिका घाटको बीचमा भएकोले कोही आउन मानेनन् । नृत्यको एलान शहरमा भैसकेको थियो कलाकारहरु नआइदिएपछि राजालाई अफ्ठ्यारो पर्यो ।

राजा कार्यक्रम स्थगित गरेर पछि हट्न सक्थेनन् । शमसान घाटमा जलिरहेको चिताको बीचमा नृत्य गर्ने हिम्मत आखिर कसले गर्ने ? अरु कुनै उपाय नभएपछि राजा मानसिंहले त्यसबेला काशीका बदनाम गल्लीमा बस्ने गणिका वा नगरवधूहरुलाई बोलाएर बोलाएर नृत्य गर्न लगाए । तबदेखि चलेको यो परम्परा अहिलेसम्म कायम छ ।

नगरवधूहरुले राजाको निमन्त्रणा स्वीकार गरेर त्यहाँ आएर रातभरि नृत्य गरे । तर उनीहरुले नृत्य गरेवापत राजाबाट कुनै इनाम लिएनन् । बरु ‘मन्नतको चढावा’ बाबा मसाननाथलाई नै चढाएर गए । उनीहरुको मन्नत यही थियो कि अर्को जन्ममा फेरि नगरवधू बन्नु नपरोस र मोक्षको प्राप्ति होस् ।

समयसँगै साढे तीनसय वर्ष पुरानो यो परम्परामा विकृति आइसकेको यो नृत्य प्रत्यक्ष हेर्ने मौका पाएका बनारसका मदन यादव बताउँछन् ।

उनी भन्छन् ‘सिनेमाको गानाबजाना र हाउभाउका कारण यो परम्परा अश्लील हुँदै गएको छ ।’ यादव यो विकृतिबाट दुःखी छन् । ‘अब त्यो समय रहेन, यसमा सिनेमाइ लटकन झटकन हावी भैसक्यो’ उनले भने ।

बारम्बार यो नृत्यको रसास्वादन गरिसकेटा गणेश मिश्र भन्छन् ‘यो एउटा पुरानो र जीवन्त परम्परा हो जसलाई सबैले हेर्न र महसुस गर्न जरुरी छ ।’

विश्वको सबैभन्दा ठूलो शमसान मानिएको मणिकर्णिका घाटस्थित महाशमसानमा बलिरहेको चिताको अगल बगलमा नाचिरहेका नगरवधूहरुले आफ्नो नृत्य र हाउभाउबाट सबैलाई यही बताउँदै आइरहेका छन् कि जीवन क्षणभंगुर छ र जीवनको क्षणभंगुरताको शोक विलाप गरेर हैन कि नृत्यको उत्सव गरेर मनाइनु पर्दछ । किनकि जीवनको अन्तिम कुट्किलो मात्रै हैन मृत्यु उत्सव पनि ।

उदास र दुःखको माहौलमा शमसान घाटको बीच जहाँ जीवनको लय सकेर यो नश्वर शरीर धूवाँमा विलीन हुँदै गर्दा नगरवधूहरु अर्को जन्ममा फेरि नगरवधू बन्नु नपरोस् भन्ने मोक्षको कामनाका साथ नृत्यमा लीन हुन्छन् ।

यो उत्सव चैत्र नवरात्रिको अष्टमी तिथिमा शुरु भएर तीन दिनसम्म चल्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *