कृषि व्यवसायको क्षमता बढाउँदै लगानीमा पहुँच पुर्याउन प्रदेश १ मा ‘एक्सिलरेटर’ कार्यक्रम

विराटनगर । प्रदेश १ मा कृषिमा आधारित उद्यमलक्षित ‘एक्सिलरेटर’ कार्यक्रम सञ्चालन हुने भएको छ ।

सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक संस्था ‘आध्यन्त’ र स्वीस सहयोगको नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) को साझेदारीमा पाँच महिनासम्म कार्यक्रम सञ्चालन हुने भएको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमलाई प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ सँगको सहकार्यमा सञ्चालन गरिने जानकारी दिइयो ।

महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य कार्यक्रमको रहेको बताए ।

प्रदेश १ लाई कृषि औद्योगीकरणका लागि लगानी आकर्षित गरेर सम्भावनालाई अवसरका रुपमा बदल्ने प्रयास कार्यक्रमले गर्ने राउतले बताए ।

आध्यन्तका संस्थापक मनोज पौडेलले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत-सामग्री र व्यावसायिक परामर्श प्रदान गरी लगानीयोग्य बनाउन कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी हुन आवेदन दिनेमध्ये १० उद्यमी, फर्महरूलाई छनौट गरिने जनाइएको छ ।

छानिएकाहरुलाई १२ हप्ताको पुँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौती केन्द्रित परामर्श प्रदान गरिने पौडेलले बताए ।

सम्भावना देखिएका कृषि-उद्यमीहरूसँग विज्ञ तथा उद्योगीसँग सम्पर्क गराएर कृषि उद्योग विस्तारमा लगानी गर्ने बाटो खोल्ने लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए ।

कृषि उद्यमका क्षेत्रमा क्रियाशीलहरूले माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । अनलाइनमार्फत वा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र तोकिएका अन्य स्थानबाट समेत इच्छुकलाई आवेदन दिन सकिने जनाइएको छ ।

‘आध्यन्त’ सरकारी तथा निजी क्षेत्रका वाणिज्य बैंक, प्रतिष्ठित उद्यमी र विभिन्न क्षेत्रका विज्ञद्वारा स्थापित वैकल्पिक कोष व्यवस्थापक संस्था हो ।

कार्यक्रमको मुख्य उद्देश्य प्रदेश १ बाट छानिएका कृषि व्यवसायहरुको क्षमता बढाएर उनीहरुलाई थप लगानीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको जनाइएको छ ।

प्रदेश १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी छ । यहाँ उपलब्ध स्रोतहरूको समुचित उपयोग गर्न सके प्रदेश समृद्ध बन्ने सम्भावना प्रशस्त छ ।

सम्भावना भए पनि व्यावसायिक परामर्शको अभावमा ती क्षेत्रबाट पर्याप्त लाभ लिन नसकिएको अवस्था छ ।

कार्यक्रमले उपलब्ध स्रोतहरुको व्यावसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्ने आयोजकको अपेक्षा छ ।

यसअघि यस्ता कार्यक्रम संघीय राजधानीमा मात्र केन्द्रित थिए । यसपटक प्रदेश १ मा सञ्चालन गर्न लागिएको हो ।

कार्यक्रमअन्तर्गत विभिन्न सरोकारवालाहरूले एक आपसमा गर्ने अन्तरक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने पनि जनाइएको छ ।

उद्यमीहरूलाई उनीहरूको व्यावसायिक पर्यावरण भन्दा बाहिरका सहयोग र स्रोतहरू तथा सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जालसम्म पहुँच समेत प्रदान गर्ने संस्थाको भनाइ छ ।

आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकका रूपमा काम गर्न इजाजतपत्र प्राप्त गरेको जनाइएको छ ।

सेबोन-विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत बोर्डले लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको हो ।

आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक फर्म हो । यसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने हो ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नवीन उद्यमहरूलाई पुँजीमा पहुँच प्रदान गर्ने संस्थापक मनोज पौडेलको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *