चराको स्वर्गः कोसीटप्पु

सुनसरी । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने गर्छन् । दुर्लभ चराहरुको बासस्थान मानिने कोसीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरु आउने गरेका छन् ।

यो वर्ष चखेवा, जलहाँस, बिजुला गोइरी, श्वेत आँखी भुइँलगायत जातका चरा कोसीटप्पु क्षेत्रमा देखिएका छन् । यसैगरी ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा देखिन थालेको आरक्ष कार्यालयले जनाएको छ ।

मंसिर महिना लागेसँगै चराहरुको आउने क्रम सुरु भएको र हालैका दिनमा थप चराहरु आइरहेको आरक्षका अधिकारीहरुले जनाएका छन् ।

चराहरु पुस अन्तिम सातादेखि माघ पहिलो र कहिलेकाहीँ दोस्रो सातासम्म आउने गर्छन् । यसपटक ८० प्रतिशतभन्दा बढी हिउँदे पाहुना चरा आइसकेको आरक्षका वार्डेन रमेश यादवले बताए ।

केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरु देखिएका छैनन् । आरक्ष क्षेत्रमा रहेका सिमसारहरु सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरुको भनाइ छ ।

नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइने गरेको तथ्यांक छ । तीमध्ये कोसीटप्पु आरक्ष क्षेत्रमा मात्रै ५ सय २३ भन्दा बढी प्रजातिका चराहरु पाइन्छन् । हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छ । यस क्षेत्रमा विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन् ।

हिउँदका बेला विभिन्न देशबाट एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेको आरक्षले जनाएको छ । चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका आगन्तुकहरु आरक्ष क्षेत्रमा आउने गरेका छन् ।

सिमसारहरु व्यवस्थित गर्दै चरा र वन्यजन्तुहरुको संरक्षणका लागि केन्द्रीयदेखि स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने बराहक्षेत्रका भीष्म अधिकारी बताउँछन् । उनका अनुसार आरक्ष क्षेत्रमा रहेका जलाशय र सिमसारमा रहेका माछा स्थानीय बासिन्दाले संकलन गर्ने भएकाले चराको आहारामा कमी आएको छ ।

सिमसारहरु सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको जनाइएको छ । स्थानीय जनप्रतिनिधि भने स्थानीय सरकारको अधिकार र बजेट कटौती जस्ता कारणले चाहेर पनि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा संरक्षणको काम अपेक्षित रुपमा गर्न नसकिएको बताउँछन् ।

पर्याप्त बजेट र अधिकार दिइए आरक्ष क्षेत्रको विकासमा स्थानीय सरकारले गर्न सक्ने काम धेरै रहेको कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको भनाइ छ । २०६५ भदौ २ गते कोसी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थानहरु प्रभावित भएका थिए । त्यसयता आरक्ष क्षेत्र आसपास मानवीय गतिविधि बढ्नुले पनि प्रभाव परेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *