प्रदेश १ सरकारमा दाबी गर्ने आज अन्तिम दिन, एमालेको तयारी

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दिइएको समय आज आइतबार साँझ ५ बजे सकिँदैछ ।

निर्वाचन सम्पन्न भएको करिब डेढ महिनापछि प्रदेश १ मा सरकार गठनको तयारी थालिएको हो । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी गर्न गत आइतबार आह्वान गरेका थिए । प्रदेश प्रमुखले एक साताको म्याद दिएर सरकार गठनका लागि आह्वान गरेका थिए ।

मंसिर ४ गते भएको निर्वाचनबाट कुनै दलले स्पष्ट बहुमत नल्याएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन् ।

प्रदेश १ मा सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनमा आबद्ध दलहरु सहभागी हुनेछन् । नेतृत्व कसले गर्ने भन्ने औपचारिक टुंगो भने लाग्न सकेको छैन ।

सरकारको नेतृत्वमा गठबन्धनका प्रमुख दुई दल एमाले र माओवादी केन्द्रले दाबी गर्दै आएका छन् ।

आइतबार साँझ पाँच बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेश नभए उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ ।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ सांसद चाहिन्छ । ४० सिट रहेको एमाले पहिलो दल हो ।

यसैबीच, एमालेले सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ । संसदीय दलका नेता कार्कीको नेतृत्वमा सरकार गठनका लागि एमालेले दाबी पेस गर्ने तयारी गरेको हो ।

माओवादी केन्द्र राप्रपा र जनता समाजवादीको समर्थनमा नेतृत्वमा दाबी पेस गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

एकीकृत माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसदको समर्थन हुँदा ६० मतसहित एमालेले मुख्यमन्त्री दाबी गर्ने सम्भावना छ । एमालेले हिक्मतबहादुर कार्कीलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

प्रदेश १ मा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *