‘कांग्रेसले माओवादी र एमालेको चाल बुझ्न नसक्दा दुर्घटना’

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रमा देखिएको पदको आशक्ति र आफ्नै पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको बताएका छन् ।

गृहनगर आएका उनले बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । गठबन्धन भाँडिएको र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे पुस २२ गते हुने पार्टीको बैठकमा समीक्षा हुने कोइरालाले बताए ।

कांग्रेससहितको गठबन्धनबाट अलग भएर एमालेसँग मिल्नु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको टिप्पणी उनले गरे ।

कांग्रेसले माओवादी र एमालेको ‘चाल’ बुझ्न नसक्दा ‘दुर्घटना’ भएको बताए । पहिले निर्वाचनपछि गठबन्धन गर्ने भन्ने मान्यता रहे पनि निर्वाचनमा जानकै लागि गठबन्धन गर्नुलाई पनि उनले कमजोरीका रुपमा मानेका छन् ।

‘निर्वाचनअघि नै गठबन्धन गर्ने निर्णय भइसकेपछि त्यसलाई टिकाउनुपर्ने नै थियो’, कोइरालाले भने, ‘ठूलो पार्टी भएकोले प्रधानमन्त्री पाउनुपर्ने हाम्रो दाबी स्वाभाविक थियो । प्रचण्डले त्यो रुचाउनु भएन । दुवै तर्फबाट पदको आशक्ति भयो ।’

अन्तिम समयमा महामन्त्रीहरुलाई बोलाएर निर्णय गर्नु उचित हुनेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

‘पदाधिकारीलाई बोलाएर निर्णय गर्नुपर्थ्यो’ कोइरालाले भने, ‘त्यो पनि सम्भव नहुँदा कम्तीमा महामन्त्रीलाई बोलाएको भए हुन्थ्यो ।’

अब पार्टीको विशेष महाधिवेशन माग गर्नुभन्दा ‘नीति अधिवेशन’ गर्नुपर्ने कोइरालाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *