नेतृत्वको गल्तीले पार्टीले धोका पायो : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी नेतृत्वको गल्तीले धोका भएको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।

कोइरालाले सत्ता गुम्दैमा शक्ति नगुमेको भन्दै धैर्य गर्न नेता, कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

सोमवार अपिल जारी गर्दै कोइरालाले कांग्रेसकै नेतृत्वको गल्ती र माओवादीको अस्थिर तथा अराजनीतिक कदमको कारण कांग्रेसले धोका पाएको बताएका छन् ।

प्रधानमन्त्री बनेकामा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै कोइरालाले संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने उल्लेख गरेका छन् ।

‘संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीररूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु’, कोइरालाले भनेका छन् ।

गठबन्धनका कारण पार्टीमा क्षति पुगेकोप्रति पनि उनले कडा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘गठबन्धनको प्रकरणमा कैयन् कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ । विगत एक वर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन घटना घट्यो । यो निःसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिन सक्नुपर्छ ।’

कांग्रेस संसद्को सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको उल्लेख गर्दै कोइरालाले गठबन्धनको मुख्य पार्टनर नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एक पटक उदाएको, सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको जनाएका छन् ।

‘अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान् र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन’ कोइरालाले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *