खेती व्यवस्थित गर्दै ‘चिया-पर्यटन’ मा ध्यान दिनुपर्ने बेला

इलाम । प्रदेश १ को आर्थिक समृद्धिको आधारमध्ये एक मानिएको पर्यटन क्षेत्रमा पछिल्लो समय केही काम हुन थालेका छन् । खासगरी स्थानीय तहहरुले आफ्नो क्षेत्रमा रहेका पर्यटकीय सम्भावनालाई औंल्याउँदै त्यस्ता क्षेत्रको विकासका लागि काम गर्न थालेका छन् ।

प्रदेश १ मा जलस्रोत, कृषि र पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मानिंदै आएको छ । तीमध्ये ‘चिया पर्यटन’ लाई पछिल्लो समय ध्यान दिन थालिएको छ ।

इलामको कन्याममा चियाबारीबीच विभिन्न आकर्षक संरचना बनाउन थालिएको छ । त्यहाँ सधैंजसो विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।

प्रदेश १ मा प्राकृतिक, धार्मिक तथा पर्या–पर्यटनका हिसाबले पनि अब्बल रहँदै आएको छ । समरमाथा, पाथिभरा, मकालु, कञ्चनजंघा, इलाम र अधिकांश जिल्लामा फैलिएको चिया यहाँको पर्यटनका लागि आधार हुन् ।

प्रदेशका १४ जिल्लामध्ये ८ वटा जिल्लामा चिया खेती राम्ररी फस्टाएको छ । चिया लगाइएका डाँडाकाँडा अनि तराईको फाँट पनि हराभरा र सुन्दर देखिन्छ । यसले गर्दा पर्यटक आकर्षित हुने गरेका छन् ।

विश्वका कतिपय देशमा चिया–पर्यटन (टि–टुरिजम) का रुपमा अभ्यासमा छ । नेपालमा भने भरखरैबाट यसमा प्रयास थालिएको छ ।

चीन, भारत, केन्या, श्रीलंकाजस्ता देशहरुमा चिया पर्यटनबाट पर्याप्त फाइदा लिने गरिएको छ । चीनको सिचुवान प्रान्तमा चियासम्बन्धी ‘संग्रहालय’ नै छ ।

त्यहाँ पहिलो पटक पटक पत्ता लागेको चियाको बोटलाई संरक्षण गरेर सुरक्षित राखिएको छ । पर्यटकका लागि रोप–वेको व्यवस्था गरिएको छ । हरेक वर्ष त्यहाँ लाखौं पर्यटक पुग्ने गरेको तथ्यांक छ ।

भारतको दार्जिलिङ, आसाम, डुवर्स लगायतका क्षेत्रमा पनि चिया पर्यटक फस्टाइरहेको छ ।

चिया पर्यटनलाई व्यवस्थित गर्दै त्यसका लागि पूर्वाधार तयार पारेर काम गर्न सके पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको इलामका दिनेश शर्मा बताउँछन् ।

प्राकृतिक सुन्दरताका साथै हावापानी पनि उपयुक्त भएकाले इलाम, पाँचथर, धनकुटाटा, तेह्थुम, झापालगायत स्थानलाई चिया पर्यटनका रुपमा विकास गर्न सकिन्छ ।

हरियाली चियावारी र आसपास क्षेत्रमा स्थानीय पदमार्ग, होमस्टेजस्ता पक्षलाई विकास गर्न सकिन्छ । आसपास क्षेत्रमा वातावरणलाई असर नगर्ने गरी रिसोर्टहरु पनि सञ्चालन गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *