यो सिजनको पहिलो सगरमाथा आरोही पाकिस्तानी महिला

काठमाडौं । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेकी छन् ।
यसपटकको वसन्त ऋतुको पहिलो आरोहणमा नेपाली र पाकिस्तानी दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका हु्न् ।
आज आइतबार बिहान ८ः०२ बजे उनीहरु सगरमाथा चुचुरोमा पुगेका हुन् । नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन् ।
दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए ।
कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रिय पर्वतारोहीबाट भएको जानकारी दिए ।
उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारदेखि सुरु भएको थियो ।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही पुगेका छन् ।
पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ४६७ जनाले अनुमति लिएका छन् ।