दुवै खुट्टा गुमाएका बुढामगर पुगे सगरमाथा चुचुरो

काठमाडौं । दुवै खुट्टा गुमाएका पूर्व बेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।
जेठ ५ गते दिउँसो ३ बजे उनी सगरमाथा चुचुरोमा पुगेका हुन् । यससँगै बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो घुँडा माथिबाट दुवै अंगविच्छेदन (डबल एम्प्युटी एभोब नी) भएका व्यक्तिको विश्व कीर्तिमान बनाएका छन् ।
कृत्तिम खुट्टा (प्रोस्थेटिक) को मदतले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । ५ वर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेको बताएका छन् ।
रोल्पाको थबाङ गाउँपालिका, मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर उनको घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।
बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने हरिको सपना थियो ।
उनले नर्थ अफ्रिकाको माउन्ट टुब्कल (४,१६७), माउन्ट ब्लांक (४,८१० मिटर), चुलू सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरापिक (६,४७६ मिटर) लगायतका आरोहण गरिसकेका थिए ।