विश्वका घुम्नैपर्ने ३७ गन्तव्यको सूचीमा मुस्ताङ

काठमाडौं । अमेरिकी समाचारमाध्यम ‘न्युयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ ।

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाइएको छ ।

हिमालपारिको जिल्लाको नामबाट परिचित मुस्ताङ धौलागिरी र नीलगिरी दुई अग्ला हिमशिखको बीचमा अवस्थित छ । करिब ३ हजार वर्षभन्दा अगाडिको पुरातात्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका थियो ।

मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो ।

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ क्षेत्र, टुकुचे नीलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क छन् ।

धार्मिक हिसाबले पनि यो जिल्लाको विशेष महत्व छ । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा छन् ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ । सदरमुकामदेखि उत्तरतिर भोटे गुरुङ, विष्ट र ठकुरी जातिको वाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको बसोवास भएको पाइन्छ ।

गुरुङ तथा थकाली जाति वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातिहरूले हिन्दू धर्मप्रति आस्थावान देखिन्छन् ।

न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा नर्थ अमेरिकालाई शीर्ष स्थान एवं फ्लोरिडालाई ५२औं स्थानमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *