के हो पर्यटन ? कसरी फाइदा लिन सकिन्छ ?

पूर्वी नेपालका बेग्लाबेग्लै विशेषतायुक्त १४ वटा जिल्ला समेटिएको प्रदेश नम्बर १ आफैंमा एटटा ‘सानो नेपाल’ हो । हिमाल, पहाड र तराईको संगम रहेको यहाँ आकर्षक सांस्कृतिक विविधता समेटिएको छ ।

संसारको सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखला यही प्रदेशमा पर्छ ।

मुलुककै होचो भूभाग झापाको केचनाकवलको बेग्लै महत्व छ । सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृङ्खला शीरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्रकृतिको अतुलनीय छटा समाहित छ ।

दक्षिणको तराई अन्न भण्डारका रुपमा चिनिएको छ । यो प्रदेशमा प्रसिद्ध नदी तथा खोलाहरु पर्छन् । कृषि कर्मले सुधारिएको जीवनस्तर, प्राकृतिक स्रोतले भरिपूर्ण क्षेत्रहरु समेटिएर बनेको यो प्रदेश सांस्कृतिक विविधतायुक्त छ ।

प्राकृतिक स्रोत र मौलिक सांस्कृतिक पक्षलाई सदुपयोग गर्दै पर्यटक आकर्षित गर्न सके मनग्य आम्दानी गर्न सकिन्छ । यसमा धेरथोर प्रयास भइरहेकै पनि छ तर पर्याप्त चाहिँ छैन । पर्यटन विकासका लागि आकर्षक गन्तव्य र उपज (प्रोडक्ट) आवश्यक हुन्छ । मौलिक सांस्कृतिक विशेषता यो क्षेत्रको आकर्षण बनेको छ ।

यस प्रदेशमा मधेशका सन्थाल, धिमाल, थारु आदि आफ्नो संस्कृतिको जगेर्नामा लाग्दैछन् । पहाडी इलाका किराँतहरुको पावनभूमि हो । हिमालमा शेर्पाहरु रमाएर बसेका छन् ।

पहाड र मधेसमा धेरै जातिको बसोबास छ । जातिपिच्छेका भाषा, संस्कृति र परम्परा छन् र तीसँगै आपसी अन्तरघुलनको आत्मीय सम्बन्ध पनि छ । यो अरूका लागि पनि अनुकरणाीय छ ।

भूगोल, हावापानी, जराजुरी, जीवजनवार र संस्कृतिमा यतिविधि विविधता अन्यत्र सायदै पाइएला । जैविक विविधता र सांस्कृतिक विशेषता यहाँका अवलोकनका लागि मात्रै होइन, अनुसन्धानकर्ताका लागि समेत चासोको विषय बन्दै आएको छ । त्यसैले यो प्रदेशमा पर्यटकहरुका लागि अकल्पनीय गन्तव्य र आकर्षक उपजहरु विद्यमान छन् ।

सम्भावना

प्रदेश १ को पूर्वमा भारतको पश्चिम बङ्गालसँग जोडिन्छ । बंगालीहरु घुमघामका शौखिन छन् । उनीहरु नेपाल–भारत सीमा हुँदै इलामको सन्दकपुरतिर ठूलो संख्यामा आउँछन् । तीमध्ये केही इलामतिर छिर्न थालेका छन् । तिनलाई अझै पश्चिम तान्न सकिन्छ ।

त्यस्तै काँकडभिट्टा नाका भएर बाङ्गलादेशीहरु पनि नेपाल घुम्न आउँछन् । उनीहरुलाई यस प्रदेशका पहाडी इलाकामा पल्काउन सकिन्छ ।

आन्तरिक पर्यटकहरुका लागि इलाम आकर्षक गन्तव्यका रुपमा स्थापित छ । विगतमा वार्षिक करिब ६५ हजार आन्तरिक पर्यटक इलाम भित्रिएको तथ्यांक छ । उनीहरु इलामबाट उही बाटो झापा झरेर फर्कन्छन् । तिनलाई मोरङको बुधबारे, राजारानी हुँदै भेडेटारबाट धरान झार्न सकिन्छ । अझ माथि फिदिम लगेर मध्यपहाडी लोकमार्गबाट तेह्रथुम पु¥याउन सकिन्छ ।

सगरमाथा, कञ्चनजंघाजस्ता हिमशिखर ताकेर आउने तेस्रो मुलुकका पर्यटकलाई यो क्षेत्रमा विचरण गराउने वातावरण बनाउन सक्दा प्रदेश नम्बर १ का सबै क्षेत्र लाभान्वित हुन पाउँछन् । कोसीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज जस्ता पर्यटकीय आकर्षणका क्षेत्रहरु यसै प्रदेशमा पर्छन् ।

बराहक्षेत्र, हलेसी महादेव, पाथीभरा जस्ता नाम चलेका तीर्थस्थलहरुका कारण यस प्रदेशमा धर्मिक पर्यटनको सम्भावना उत्तिकै प्रवल छ । बुढासुब्बा, गजुरमुखी, सभापोखरी, तिम्बुङ पोखरी, माइपोखरी जस्ता धार्मिक स्थलहरुको पनि आफ्नै महत्व छ ।

आन्तरिक मात्र होइन बङ्गाल र बिहारका पर्यटकलाई लक्षित गरी तीर्थाटनको प्याकेज बनाउन सकिन्छ । प्राकृतिक सुन्दरता र जैविक विविधताको धनी अरुण उपत्यका यसै प्रदेशमा पर्छ ।

पर्यटकहरुको खासै घुइँचो नहुने यस क्षेत्रको पैदलयात्रा गर्न रुचाउने पर्यटकहरुको संख्यामा बृद्धि हुँदै गएको छ । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले यस क्षेत्रको अर्को आकर्षक गन्तव्य हो ।

गुराँस फुलेको याममा यतातिर आन्तरिक पर्यटकको ताँती लाग्छ । झापा, इलाम, पाँचथर, धनकुटा तथा तेह्रथुममा चिया पर्यटनको बेग्लै प्याकेज बनाउन सकिन्छ । पानीपछिको सस्तो तथा संसारभर लोकप्रिय चियाको बोट नदेखेका मानिस संसारमा कति होलान् ?

चिया रोप्ने, पत्ती टिप्ने, प्रशोधन गर्ने कुरामा पर्यटकलाई संलग्न गराएर पर्यटनका माध्यमले चियाको बजारीकरणमा समेत टेवा पुर्याउन सकिन्छ । यस्ता उपजकेन्द्रित विभिन्न प्याकेज बनाउन सकिन्छ ।

र्याफ्टिङ, क्यायाकिङ जस्ता साहसिक जलक्रीडाका लागि यस प्रदेशका नदीहरु उपयुक्त छन् । यस क्षेत्रमा रहेका झरनाहरुमा क्यानोनिङ विकास गर्न सकिन्छ ।

रक क्लाइम्बिङ, बन्जिजम्पिङ, माउण्टेन म्याराथन, हट बेलुन जस्ता साहसिक खेलको विकास गर्ने सम्भावना यस क्षेत्रमा मनग्य छ ।

अवसर

एकपटक नेपाल आएका धेरै पर्यटक दोहोर्याएर पुनः आउने गरेको पाइन्छ । दशौं पटक आउने पनि छन् । सामान्यतः उनीहरु त्यही गोल्डन ट्रयाङ्गलमा अड्कन्छन् । तिनलाई यता ल्याएर पल्काउन सकिन्छ ।

एउटा पर्यटकलाई सन्तुष्टि दिन सकियो भने उसले अरुहरुलाई सिफारिस गर्न थाल्दछ ।

पर्यटकको आगमन संख्यालाई बिस्तारै बृद्धि हुन दिनु दिगो हुन्छ । यसका लागि भरपर्दो पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्छ ।

अब त स्थानीय सरकारहरुले पनि यसमा महत्वपूर्ण भूमिका खेल्ने बेला आइसकेको छ । प्रारम्भिक रुपमा आफ्ना प्रदेशका प्राकृतिक स्रोतको परिचालन गरी तिनमा पूर्वाधार तयार गर्न लगानी गर्नुपर्छ ।

पर्यटन संस्कार विकास गर्न पनि ध्यान दिनुपर्छ । यसमा गरिएको लगानी विस्तारै सिंगो प्रदेशको महत्वपूर्ण आयस्रोत बन्न सक्नेछ ।

चुनौती

प्रादेशिक सरकारहरु सबैले आफ्नो प्रदेशमा पर्यटनको विकासका लागि अग्रसरता देखाउने छन् । सम्भावना सबैतिर छ । त्यसैले यो प्रतिस्पर्धात्मक व्यवसाय पनि हो ।

अन्य प्रदेशको भन्दा राम्रो व्यवस्थापन गरेर पर्यटकलाई आफ्नो प्रदेशमा आकर्षित गर्नु पर्ने चुनौती छ । उसै पनि पर्यटसँग केही नकारात्मक कुराहरु पनि भित्रिने सम्भावना रहन्छ । तिनको व्यवस्थापनको चुनौति आफ्ना ठाउँमा छँदै नै छ ।

पर्यटन एउटा व्यवसाय तथा उद्योग भएकाले सरकार एक्लैले बल गरेर यसको विकास हुन सक्दैन । यसका लागि निजी क्षेत्रको संलग्नता आवश्यक हुन्छ ।

यो एउटा दक्षताको क्षेत्र समेत हो । पर्यटनको क्षेत्रमा लगानी गर्ने ठूला घराना उही गोल्डन ट्रेङ्गलमा सञ्जाल बिस्तार गरेर बसेका छन् ।

त्यताबाट पर्यटकलाई यता ल्याउन कि ती घरानालाई यता आकर्षित गर्नु पर्दछ कि तिनीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने नयाँ लगानीकर्ता जन्माउनु पर्छ ।

पर्यटकीय दृष्टिले ज्यादै ठूलो सम्भावना बोकेको नेपालको प्रदेश १ को पर्यटन विकासका लागि एकीकृत पर्यटन व्यवस्थापन तथा विकास गुरुयोजना बनाउन आवश्यक छ ।

यस क्षेत्रमा कच्ची भए पनि यातायातको सुविधा सबैजसो ठाउँमा उपलब्ध छ । होटल र घरबास (होमस्टे) फैलँदै छन् । पर्यटनबाट राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने कुरा स्थानीयले बुझ्न थालेका छन् ।

नेपाल आएका पर्यटकमध्ये ठूलै संख्यामा पुनः नेपाल आइरहन्छन् । तिनलाई नयाँ गन्तव्यतर्फ लाने अवसर हामीसँग छ । चुनौती केवल उपयुक्त बजारीकरणको हो ।

नेपालमा पर्यटन

पर्यटकहरुका लागि नेपालले सन् १९५२ बाट मात्र ढोका खोलेको हो । अर्को वर्ष सगरमाथामाथि मानव विजय भएपछि नेपाल धेरै चर्चामा आयो ।

१९५५ मा थोमस कुक एण्ड सन्स ट्राभल एजेन्सीले पहिलोपल्ट नेपाल सरकारको अनुमति लिएर ६० जना पर्यटकलाई हवाई मार्गबाट नेपाल भित्र्याएको थियो । यसैताका पाटनमा पहिलो होटल खुलेको थियो ‘नेपाल होटल’ ।

१९५४ मा त्रिभुवन राजमार्ग चालु भएपछि स्थल मार्गबाट उपत्यका प्रवेश सहज भयो । सन् १९५८ बाट काठमाडौं–पटना हवाइ सेवा शुरु भयो ।

१९५८ मै पर्यटन विकास बोर्डको पनि गठन भयो । यिनै घटनाक्रमसँगै नेपालको आधुनिक पर्यटनको थालनी र विकास भएको हो ।

नेपाल भ्रमण बर्ष १९९८ ले नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन निकै सहयोग पुग्यो । तथापि आजसम्म हामीले एक वर्षमा दश लाख पर्यटक भित्र्याउने लक्ष हासिल गर्न सकेका छैनौं ।

नेपालको पर्यटनका मुख्य आधार प्रकृति, संस्कृति र साहसिक खेल हुन् । प्राकृतिकरुपमा नेपाल अत्यन्त सुन्दर छ । सानो देश भए पनि यहाँ हिमाल, पहाड र तराईको भूगोल हेर्न पाइन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै पर्छ ।

त्यसका अतिरिक्त आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशिखरमध्ये आठ वटा नेपालमै पर्छन् । हिम मानव यती यहीँको हिमाली क्षेत्रमा विचरण गर्दछ भन्ने रहस्यमय किम्वदन्ती कायमै छ ।

हिमनदी, हिमताल र खोंचबाट बग्ने नदीनाला समेत पर्यटकका लागि हेर्नलायक उपज हुन् । बाघ, हात्ती, गैंडा, हिउँभालु, रेडपाण्डालगायत वन्यजन्तु, धेरै थरीका चराचुरुङ्गी, पुतली आदि पनि पर्यटकका लागि आकर्षक बिषय छन् ।

नेपालका वनमा पाइने वनस्पति, अनेक प्रकारका जडिबुटी समेतले पर्यटकलाई तान्छ । मौसमको विविधता पनि पर्यटकका लागि रमाइलो बिषय हो । खासगरी पैदलयात्रीहरुले यसको रसास्वादन गर्दछन् । नेपालीको सहृदयी आतिथ्यले पर्यटकलाई लोभ्याउँदै आएको छ ।

हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुका लागि नेपाल तीर्थयात्राको गतिलो गन्तव्य हो । बुद्धको जन्मस्थल लुम्विनी वौद्धमार्गीहरुका लागि र हिन्दुहरुका लागि आराध्य देव पशुपतिनाथ अत्यन्त पवित्र तीर्थस्थलहरु हुन् ।

जानकीको जन्मभूमि जनकपुरको पनि महत्व कम छैन । अन्य धर्मावलम्वीहरुले पनि नेपालका मठ मन्दिर, तिनको वास्तुकला दर्शनीय मान्ने गरेको पाइन्छ । विभिन्न जातजातिका भेषभूषा, पर्व, जात्रा आदिले समेत पर्यटकलाई लोभ्याउँछ ।

नेपालका सबै क्षेत्रमा प्रकृति र संस्कृतिको अथाह भण्डार छ । यी स्थानहरु पर्यटकका लागि आकर्षक गन्तव्य हुन्छन् तर तिनको यथोचित बजारीकरण गर्न नसक्दा अहिलेसम्म पर्यटकहरु काठमाडौं, पोखरा र चितवनतिर वढी आकर्षित देखिन्छन् ।

पर्यटकको अर्को रोजाइमा पर्दछ हिमाली क्षेत्रको पैदल यात्रा । नेपाली पर्यटन क्षेत्रमा गोल्डन ट्रेङ्गल नामले जानिने यी क्षेत्रबाट पर्यटकलाई अन्यत्र लाने कार्य प्रभावकारीरुपमा हुन सकेको छैन ।

गतिलो व्यवसाय

पर्यटन सोख र रुचिको विषय मात्रै होइन । यो एउटा गतिलो व्यवसाय र तीब्र रुपमा फस्टाउँदो उद्योग समेत बनेको छ । पर्यटनले समाज सबै क्षेत्रलाई प्रभावित पार्छ ।

पर्यटनको प्रारम्भ मानव सभ्यताको विकास क्रमसँगै भएको मानिन्छ । आदि मानव खानेकुराको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्थे । पछि उपयुक्त कृषिभूमिको खोजीमा पनि यस्तो यात्राले निरन्तरता पायो ।

यसरी विभिन्न उद्देश्यले मानिसको यात्रा गर्ने क्रम क्रमशः बढ्दै जान थालेपछि तिनलाई आवश्यक सेवा दिने उद्देश्यले मानिसहरुले नयाँ व्यवसाय थालनी गरे । यी व्यवसायले बिस्तारै उद्योगको रुप लिए । अहिले विश्वमा तीब्र गतिमा बृद्धि भइरहेको प्रमुख उद्योग पर्यटन नै हो ।

पर्यटन व्यवसायको प्रारम्भ ईशापूर्व ७७६ मा ग्रिसमा आयोजित पहिलो ओलिम्पिकसँगै भएको मानिन्छ । आधुनिक पर्यटन व्यवसायको श्रीगणेशको श्रेय चाहिँ बेलायतका थोमस कूकलाई जान्छ ।

उनले ५७० जनाको एउटा समूहलाई एक ठाउँबाट अर्को ठाउँ घुमाउन लगेका थिए । पछि उनले मानिसहरुलाई विदेश भ्रमणमा समेत लान थाले ।

सन् १८४१ मा उनले थोमस कूक ट्राभल्स एजेन्सी खोलेका थिए । यो नै विश्वको पहिलो ट्राभल एजेन्सी हो । आज संसारभर यस्ता लाखौं एजेन्सीहरु छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *