बीएण्डसी कलेजले थाल्यो एमबीबीएस पढाइको तयारी
झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति पाएपछि झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएस (स्नातक तह) को पठनपाठन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक पूर्वतयारी पूरा भएको कलेजले जनाएको छ ।
लामो समयदेखि सम्बन्धन नपाइरहेको अवस्थामा सर्वोच्च अदालतले २०८० चैत १३ गते उक्त कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । त्यही आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो ।
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए ।
पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए।
कलेजले मेचीनगर नगरपालिका–१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले भवन तयार गरेको छ । ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि विर्तामोड नगरपालिका–५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।
कलेजमा एक सय ५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउने व्यवस्था मिलाएको जनाइएको छ ।
