नेपाली मूलका प्राध्यापक धरेललाई क्यानाडामा प्रतिष्ठित पदक

काठमाडौँ । क्यानेडियन मल्टिकल्चरल काउन्सिलमा ‘बहुसंस्कृतिवाद’ र नेतृत्व प्रवर्द्धनमा गरेको योगदानको सम्मानका लागि नेपाली मूलका प्राध्यापक डा. तुल्सी धरेल सम्मानित भएका छन् । ‘किङ चार्ल्स थर्ड कोरोनेसन’ पदकबाट उनी सम्मानित भएका हुन् ।

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकको उपलक्ष्यमा उनलाई क्यानाडाको अन्टारियो प्रान्तले उक्त सम्मान प्रदान गरेको हो । उक्त प्रान्तका प्रिमियर डग फोर्डको उपस्थितिमा आयोजित समारोहमा सोलिसिटर जनरल माइकल एस. कर्जनरले पदक प्रदान गरेका थिए ।

सम्मानित भएपछि खुसी व्यक्त गर्दै डा. धरेलले यस अवसरका लागि मनोनयन गर्ने राजनीतिक र सांस्कृतिक नेताहरूलाई धन्यवाद दिएका छन् । त्यस अवसरमा अन्टारियोमा योगदान गरेका अन्य विभिन्न पेशा व्यवसायका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको क्यानाडाबाट प्रकाशन हुने ‘नेपालटच’ अनलाइनले उल्लेख गरेको छ ।

चितवन पुर्ख्यौली थलो भएका डा. धरेल क्यानेडियन मल्टिकल्चरल काउन्सिलका वर्तमान अध्यक्ष हुन् । उनी टोरन्टोको सेन्टेनियल कलेजमा अध्यापन गर्छन् । 

धरेल, उत्तर अमेरिकामा बसोबास गर्ने नेपालीमाझ लोकप्रिय छन् । डा. धरेलले प्राध्यापन पेशामा तीन दशकभन्दा बढी बिताइसकेका छन् । उनले यसअघि क्यानाडामा ‘एसियन क्यानेडियन अवार्ड’ पनि पाइसकेका छन् । बौद्धिक, पेशागत र सामाजिक योगदान गरेबापत उनले दर्जनौं सम्मान र पुरस्कार पाइसकेका छन् ।


प्रतिक्रिया

One thought on “नेपाली मूलका प्राध्यापक धरेललाई क्यानाडामा प्रतिष्ठित पदक

  1. अथक मेहनत विद्यार्थी लाई बुझाउने शैली विषय वस्तुमाथिको गहिरो अद्यायन प्रस्तुतीकरण विद्यार्थीहरुसङ गरिने मित्रवत व्यवहार यी यस्ता धेरै असाध्यै राम्रा कुराहरु दिमागमा ताजै छन । सर हजुरले यति ठुलो पुरस्कार प्रप्त गर्नु भएकोमा एक्दम खुशी व्यक्त गर्न चहनछु। हजुर को उत्तोरत्तर प्रगतिको कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *