नेपाली मूलका प्राध्यापक धरेललाई क्यानाडामा प्रतिष्ठित पदक
काठमाडौँ । क्यानेडियन मल्टिकल्चरल काउन्सिलमा ‘बहुसंस्कृतिवाद’ र नेतृत्व प्रवर्द्धनमा गरेको योगदानको सम्मानका लागि नेपाली मूलका प्राध्यापक डा. तुल्सी धरेल सम्मानित भएका छन् । ‘किङ चार्ल्स थर्ड कोरोनेसन’ पदकबाट उनी सम्मानित भएका हुन् ।
बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकको उपलक्ष्यमा उनलाई क्यानाडाको अन्टारियो प्रान्तले उक्त सम्मान प्रदान गरेको हो । उक्त प्रान्तका प्रिमियर डग फोर्डको उपस्थितिमा आयोजित समारोहमा सोलिसिटर जनरल माइकल एस. कर्जनरले पदक प्रदान गरेका थिए ।
सम्मानित भएपछि खुसी व्यक्त गर्दै डा. धरेलले यस अवसरका लागि मनोनयन गर्ने राजनीतिक र सांस्कृतिक नेताहरूलाई धन्यवाद दिएका छन् । त्यस अवसरमा अन्टारियोमा योगदान गरेका अन्य विभिन्न पेशा व्यवसायका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको क्यानाडाबाट प्रकाशन हुने ‘नेपालटच’ अनलाइनले उल्लेख गरेको छ ।
चितवन पुर्ख्यौली थलो भएका डा. धरेल क्यानेडियन मल्टिकल्चरल काउन्सिलका वर्तमान अध्यक्ष हुन् । उनी टोरन्टोको सेन्टेनियल कलेजमा अध्यापन गर्छन् ।
धरेल, उत्तर अमेरिकामा बसोबास गर्ने नेपालीमाझ लोकप्रिय छन् । डा. धरेलले प्राध्यापन पेशामा तीन दशकभन्दा बढी बिताइसकेका छन् । उनले यसअघि क्यानाडामा ‘एसियन क्यानेडियन अवार्ड’ पनि पाइसकेका छन् । बौद्धिक, पेशागत र सामाजिक योगदान गरेबापत उनले दर्जनौं सम्मान र पुरस्कार पाइसकेका छन् ।

अथक मेहनत विद्यार्थी लाई बुझाउने शैली विषय वस्तुमाथिको गहिरो अद्यायन प्रस्तुतीकरण विद्यार्थीहरुसङ गरिने मित्रवत व्यवहार यी यस्ता धेरै असाध्यै राम्रा कुराहरु दिमागमा ताजै छन । सर हजुरले यति ठुलो पुरस्कार प्रप्त गर्नु भएकोमा एक्दम खुशी व्यक्त गर्न चहनछु। हजुर को उत्तोरत्तर प्रगतिको कामना गर्दछु ।