भ्रष्टाचारविरुद्ध सत्तारुढ दलका विद्यार्थी संगठनहरुको प्रदर्शन

काठमाडौं । सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनहरुले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले कुनै पनि दबाबका भरमा भ्रष्टाचार छानबिन प्रभावित हुनु नहुनेमा जोड दिएका छन् ।

भ्रष्टाचारविरुद्ध जारी अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिहीबार विरोध गरेका हुन् ।

उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डप परिसरमा भएको प्रदर्शनका क्रममा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको प्रतिक्रिया दिइन् ।

उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने जनाइन् ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यबद्धता जनाएको प्रतिक्रिया दिए ।

सरकारले व्यक्त गरेको साहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरु खोल्नुपर्ने विद्यार्थी नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *