मोरङ र सिरहाको विजयी सुरुवात

विराटनगर । दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट २०२३’ प्रतियोगिता बुधबारदेखि विराटनगरमा शुरु भएको छ ।

महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रतियोगिता शुरु भएको हो ।

नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा मोरङ र सिरहा विजयी भएका छन् ।

पहिलो खेलमा कोशी प्रदेशको मोरङले गण्डकी प्रदेशको एमसीसी महिला–११ लाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित १६ ओभरमा २ विकेट गुमाई १ सय ४९ रनको विशाल स्कोर बनाएको थियो ।

मोरङकी वुमेन अफ द म्याच सोनु राजवंशीले ३१ रन बनाउँदा टिका साहले अविजित ३० रन, पूर्णिमा राजवंशीले २४ रन र सिर्जना राजवंशीले अविजित २१ रनको योगदान दिए । एमसीसीकी सुशीला तामाङ र एलिना गोतामेले १–१ विकेट लिए ।

१ सय ५० रनको विशाल लक्ष्य पछ्याएको एमसीसीले १३ दशमलव १ बलमा ४५ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा खुशी राजवंशी र वेदिका राजवंशी २–२ विकेट लिए ।

दोस्रो खेलमा सिरहाले सप्तरीलाई २ रनले पराजित गर्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १२ रनको स्कोर बनाएको थियो । सिरहाकी चन्द्रिका साहले ३१ रन अजमेरी खातुनले १२ रन बनाइन् । सप्तरीकी बन्दनाले ३ विकेट लिँदा साक्षी यादवले २ विकेट लिइन् ।

१ सय १३ रनको लक्ष्य पछ्याएको सप्तरी निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय १० रनमा सीमित भयो । सप्तरीकी बन्दना रजकले १३ रन बनाउँदा दिपिका पंिशले अविजित १२ रन, साक्षी यादवले १२ रन र सुस्मीता यादवले पनि १२ रन बनाए । सिरहाकी वुमेन अफ म्याच चन्द्रिका साहले ४ लिँदा रोशनी साहले २ विकेट लिइन् ।

फागुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहा तथा गण्डकी प्रदेशबाट एमसीसी–११ सहित ४ टिम सहभागी रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

लिगको आधारमा खेलाइने प्रतियोगितामा उत्कृष्ट दुई टिम फाइनलमा पुग्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *