मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं। नेपाल अपराजित रहँदै एसियन गेम्स क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न समूह ‘ए’को आफ्नो अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको हो।
यो जितसँगै नेपालले २ खेलबाट ४ अंक जोड्दै समूह विजेता बनेर सेमिफाइनलको यात्रा तय गर्यो। यसअघि खेलिएको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो।
नेपालसँग पराजित भए पनि मलेसिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। अब फाइनल प्रवेशका लागि नेपालले हङकङ र ओमानबीच हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
खेलमा नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा मात्र समेटियो। मलेसियाका लागि कप्तान सैयद अजिजले ४५ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५४ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसैगरी शर्विन मुनियान्डीले १८ र मुहम्मद हाजिक आइमानले १३ रन जोडे। मलेसियालाई कम स्कोरमा रोक्न नेपालका बलर शेर मल्लले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए।
