राप्रपा परित्यागपछि ‘राजासहितको प्रजातन्त्र’ भन्दै नयाँ पार्टी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राणाले राप्रपाबाट अलग भएको घोषणासँगै अब नयाँ राजनीतिक दल गठन गर्ने जानकारी दिए।

पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई समेत उपेक्षा गरेकाले आफूले नयाँ बाटो रोज्नुपरेको स्पष्ट पारे। नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार ‘राजासहितको प्रजातन्त्र’ हुने बताए। आफूले केवल पार्टी मात्रै नखोलेको बरु यो पुरानो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको उनको भनाइ छ।

नेता राणाले राप्रपाभित्रको कार्यसम्पादन समिति र कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले त्यसमा कुनै चासो नदेखाएको आरोप लगाए। महाधिवेशन नगर्ने दिशामा नेतृत्व अघि बढेपछि आफूले धेरै पटक आवाज उठाए पनि सुध्रने संकेत नदेखेको उनले बताए।

पछिल्ला निर्वाचनहरूमा पार्टीको अवस्था लगातार खस्कँदै गएको र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवारसमेत नपाउने स्थिति देखिन थालेकाले आफूले विद्रोह गर्नुपरेको तर्क उनले पेस गरे।

उनका अनुसार स्थापना हुन लागेको नयाँ पार्टीको मुख्य विशेषता र एजेन्डाहरूमा राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापना, युवा तथा महिला नेतृत्वको विकास, सुशासन र रोजगारी प्रवर्द्धन रहेका छन्। यसका साथै दुर्गा प्रसाईँको अभियान लगायत अन्य राजावादी, राष्ट्रवादी र हिन्दूवादी संघ-संस्था तथा व्यक्तिहरूलाई समेटेर एउटा वृहत् एवं बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्य नयाँ दलले लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *