चिया निर्यातमा भारतको पुनः अवरोध
काठमाडौँ। तीन साताको अवरोधपछि गत जेठ ६ गते खुकुलो बनाइएको नेपाली चिया निर्यातमा भारतले पुनः अवरोध सुरु गरेको छ। ‘टी बोर्ड अफ इन्डिया’ ले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि नेपाली व्यवसायीले निर्यात रोक्न थालेका छन्।
व्यवसायीका अनुसार भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउन सुरु गरिएको छ। त्यो परीक्षणको प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न कडा निर्देशन दिइएको छ।
यसअघि वैशाख १८ गते भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः सुरु भएको थियो। तर, अहिले फेरि गोदाममै पुगेर नमुना परीक्षण गर्न थालिएपछि व्यवसायी अन्योलमा परेका छन्।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले गोदाममै गएर नमुना संकलन गर्न थालेपछि भारतीय व्यापारीहरू (बायर्स) नै चिया किन्न हच्किएको बताए। नेपाली चिया भारतीय व्यापारीले नकिनुन् भन्ने भारतीय बोर्डको नियत प्रष्ट देखिएको उनको आरोप छ। नेपालबाट गएको चिया गोदाममा पुग्नेबित्तिकै प्रत्येक बोराबाट नमुना संकलन गरेर प्रयोगशाला पठाइने र रिपोर्ट नआएसम्म बिक्री रोक्न भनिएका कारण व्यवसायीले नयाँ निर्यातका लागि फाराम नै पेस गर्न छाडेका छन्।
कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। जसका कारण करिब ५० हजार किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ।
यसअघि पनि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै ‘टी काउन्सिल’ पोर्टलमा चिया आउने मिति, गोदामको ठेगाना, कन्टेनर विवरण र प्रोफर्मा इन्भ्वाइससहितको जानकारी बुझाउनुपर्ने व्यवस्था लागू गरेको थियो। त्यसलाई नेपाली व्यवसायीले गैरभन्सार अवरोधका रूपमा व्याख्या गर्दै आएका छन्।
नेपाल चिया विकास निगम क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि अधिकृत ईन्द्र अधिकारीका अनुसार नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुन्छ। त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा नै निर्भर छ।
