फुटबलको महाकुम्भ : विश्वकप आउन अब १ साता बाँकी
काठमाडौं। फुटबल प्रेमीहरूका लागि प्रतीक्षाको घडी अब सकिन लागेको छ। विश्व खेलकुदकै सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप फुटबल सुरु हुन अब ७ दिन बाँकी छ। जुन ११ देखि उत्तर अमेरिकी महादेशका तीन देश अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने यसपटकको विश्वकप थुप्रै कारणले ऐतिहासिक बन्दैछ।
यसपटक विश्वकपमा ४८ राष्ट्र सहभागी हुँदै छन्। टोली संख्या बढेसँगै खेलको रोमाञ्चकता र प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ। जुन ११ मा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एजेटका’ रंगशालामा उद्घाटन खेल खेल्दै यो महाकुम्भको औपचारिक सुरुवात हुनेछ।
नेपाली समय अनुसार जुन १२ को मध्यरात मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलसँगै विश्वकपको रोमाञ्चक यात्रा सुरु हुनेछ। सोही दिन बिहान अर्को खेलमा दक्षिण कोरिया र चेक गणतन्त्र आमनेसामने हुनेछन्। कुल १६ वटा शहरका अत्याधुनिक रंगशालामा खेलाइने १०४ वटा खेलहरू ३९ दिनसम्म चल्नेछन्।
विश्वभरका फुटबल प्रशंसकहरू आफ्नो प्रिय टोली र खेलाडीको समर्थनमा जुट्न थालिसकेका छन्। नेपाली खेलकुदप्रेमीहरूमा उत्तिकै उत्साह देखिएको छ। जुलाई १९ मा न्यूयोर्कको मेटलाइफ रंगशालामा हुने फाइनल खेलसँगै यसपटकको विश्वकपको विजेताको टुंगो लाग्नेछ।
