निपाह भाइरसको जोखिम: नेपालमा उच्च सतर्कता
काठमाडौँ। छिमेकी मुलुक भारत र बंगलादेशमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाउन थालिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा यो भाइरस नदेखिए पनि खुल्ला सीमा र आवतजावतका कारण जोखिम उच्च रहेको बताएको छ।
मन्त्रालयले सम्भावित संक्रमणको पहिचान, नमुना संकलन र परीक्षणलाई व्यवस्थित बनाउन ‘अन्तरिम निर्देशिका’ जारी गर्दै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
विशेषगरी फलफूल खाने चमेरोबाट सर्ने यो भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुने भएकाले स्वास्थ्य विज्ञहरूले यसलाई गम्भीर चुनौतीका रूपमा लिएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले छिमेकी देशमा संक्रमण फैलिएकाले नेपाल उच्च जोखिमको घेरामा रहेको बताए।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यसको कुनै निश्चित खोप वा औषधि नभएकाले रोकथाम नै सबैभन्दा भरपर्दो उपाय हो।
मन्त्रालयले चमेरोले टोकेका फलफूल नखान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र शंकास्पद लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणमा आग्रह गरेको छ।
