नेपालद्वारा जिम्बाबे ६ विकेटले पराजित

काठमाडौँ । पूजा महतोको अविजित अर्धशतकको मद्दतले नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हात पारेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले हराएको हो।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि पूजा महतोले ५० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ५२ रनको योगदान दिइन्। यस्तै कप्तान इन्दु बर्माले २२ रन बनाइन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिवाले १४ रनको योगदान दिए।

नेपालका तर्फबाट कसिलो बलिङ गर्दै रिया शर्माले २ विकेट लिइन्। त्यस्तै कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १-१ विकेट हात पारे। यो जितसँगै नेपालको विश्वकप यात्राको सम्भावना जीवितै रहेको छ। अब नेपालले आफ्नो अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्नेछ। प्रतियोगितामा अघि बढ्न नेपाललाई सो खेल जित्नैपर्ने दबाब छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *