नेपालद्वारा जिम्बाबे ६ विकेटले पराजित
-क्यान
काठमाडौँ । पूजा महतोको अविजित अर्धशतकको मद्दतले नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हात पारेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले हराएको हो।
जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि पूजा महतोले ५० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ५२ रनको योगदान दिइन्। यस्तै कप्तान इन्दु बर्माले २२ रन बनाइन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिवाले १४ रनको योगदान दिए।
नेपालका तर्फबाट कसिलो बलिङ गर्दै रिया शर्माले २ विकेट लिइन्। त्यस्तै कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १-१ विकेट हात पारे। यो जितसँगै नेपालको विश्वकप यात्राको सम्भावना जीवितै रहेको छ। अब नेपालले आफ्नो अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्नेछ। प्रतियोगितामा अघि बढ्न नेपाललाई सो खेल जित्नैपर्ने दबाब छ।
