मोबाइल फोन हराए वा चोरी भएमा के गर्ने?

काठमाडौं। मोबाइल फोन हराउने वा चोरी हुने घटना बढिरहेको छ। यस्तो अवस्थामा के गर्ने भन्ने अलमल हुन्छ। मोबाइल हराए वा चोरी भएमा प्रहरी कार्यालयमा जानकारी दिनु त स्वाभाविकै हो।

कतिपय यस्ता घटनामा प्रहरीले पत्ता लगाएर सम्बन्धित धनीलाई मोबाइल फोन फिर्ता गराउने गर्दै आएको छ। यसबाहेक अरु उपाय पनि छ, आफ्नो मोबाइल प्राप्त गर्न र दुरुपयोग हुनबाट जोगिन सकिने सम्भावना रहन्छ।

आफ्नो मोबाइल फोन नेपाल दूरसञ्चार प्राधिकरणको अनलाइन प्रणाली ‘MDMS’ मार्फत सजिलै दर्ता गर्न सकिन्छ। यसरी अनलाइन रिपोर्ट गर्दा मोबाइल दुरुपयोग हुनबाट पनि रोक्न सकिन्छ।

के गर्ने?

–मोबाइल दर्ता भएको हुनुपर्छः हराएको वा चोरी भएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणको ‘MDMS’ प्रणालीमा दर्ता भएको हुनुपर्छ।

–अनलाइन पोर्टलमा जानुहोस्ः nta.gov.np टाइप गरेर नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट खोल्नुहोस्।

आइएमइआई दर्ता गर्नुहोस्ः वेबसाइटमा’ IMEI/Mobile Track Registration मा क्लिक गर्नुहोस्।

–विवरण भर्नुहोस्ः त्यसपछि आउने फारममा मोबाइलको आइएमइआई नम्बर, मोबाइल नम्बर, ब्रान्ड, मोडल, हराएको वा चोरी भएको मिति र स्थान, आफ्नो राष्ट्रियता लगायतका आवश्यक जानकारीहरू भर्नुहोस्।

–ओटीपी कोड प्रविष्ट गर्नुहोस्ः आफ्नो इमेल आइडी हालेर Request OTP मा क्लिक गर्नुहोस्। इमेलमा आएको ओटीपी कोड भरेर Validate र Continue मा क्लिक गर्नुहोस्।

–व्यक्तिगत विवरण पेश गर्नुहोस्ः अब आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना, नागरिकता नम्बर र नागरिकताको फोटो (४० केबी KB भन्दा कम साइजको) अपलोड गर्नुहोस्।

–रिपोर्ट पेश गर्नुहोस्ः सबै विवरण ठीकसँग भरेपछि Submit Form मा क्लिक गर्नुहोस् र Lost Stolen Registration Successful भएको जानकारी आउनेछ।

अनलाइनमा रिपोर्ट गरेपछि आफ्नो इमेल आइडीमा गएर जाँच गर्नुहोस्। त्यसमा नेपाल दूरसञ्चार प्राधिकरणबाट सूचना प्राप्त भएपछि नजिकको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्नुपर्नेछ। यो प्रक्रियाले हराएको वा चोरी भएको मोबाइललाई ‘ट्र्याक’ गर्न (पत्ता लगाउन) र दुरुपयोग हुनबाट बचाउन मद्दत गर्छ।

सचेत रहौंः मोबाइल चोरी भए वा हराएमा तुरुन्तै माथिका प्रक्रियाहरू अपनाएर अनलाइन रिपोर्ट गर्नुहोस् र आफ्नो मोबाइल सुरक्षित राख्नुहोस्।

दूर सञ्चार प्राधिकरणका अनुसार हराएका तथा चोरी भएका मोबाइल फोन खोजी कार्यको लागि उक्त प्रणालीमा दर्ता गर्नुअघि मोबाइल सेटको सिम कार्ड सम्बन्धित सेवा प्रदायककोमा गएर ‘ब्लक’ गराउनु पर्छ। यसो गर्दा दुरुपयोग हुनबाट रोक्न सकिन्छ।

* * *

हराएको ७७ हजार रुपैयाँ र मोबाइल फिर्ता पाएपछि…

‘अरूको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या हुनसक्छ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *